अल्ट्रा हाफ म्याराथनको उपाधि सनम गुरुङलाई

काठमाडौँ, १ माघ । धार्मिक–पर्यटकीय सम्भावनालाई खेलकुदसँग जोड्ने उद्देश्यसहित आयोजना गरिएको व्यासगुफा–गलेखामकोट अल्ट्रा हाफ म्याराथनको उपाधि आँबुखैरेनीका सनम गुरुङ ले जित्नुभएको छ ।

व्यास नगरपालिका–६ बाह्रबिसे युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा ३४ धावकलाई पछि पार्दै गुरुङले २१ किलोमिटरको दुर्गम तथा चुनौतीपूर्ण दूरी तय गर्दै पहिलो स्थान हासिल गर्नुभएको हो ।

व्यास–३ स्थित व्यासगुफाबाट सुरु भई व्यास–६ को गलेखामकोटमा समापन भएको म्याराथनले खेलकुदसँगै स्थानीय पहिचान र पर्यटन प्रवद्र्धनको सन्देश दिएको आयोजकको भनाइ छ ।

प्रतिस्पर्धामा शुक्लागण्डकी नगरपालिकाका टोपबहादुर कुमाल दोस्रो र भानु नगरपालिकाका आदित्य जिसी तेस्रो हुनुभयो । विजेताहरूलाई क्रमशः रु ३५ हजार, रु २५ हजार र रु १५ हजार नगद पुरस्कार प्रदान गरिएको क्लबका अध्यक्ष ज्ञानबहादुर गुरुङ ले जानकारी दिनुभयो ।

आयोजकका अनुसार व्यासगुफा र गलेखामकोट—दुवै धार्मिक तथा ऐतिहासिक महत्व बोकेका स्थललाई खेलकुदमार्फत जोडेर व्यापक चिनारी दिलाउने लक्ष्यसहित म्याराथन आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदले धार्मिक पर्यटनको प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।

“व्यासगुफा धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हो भने गलेखामकोट धार्मिक र ऐतिहासिक हिसाबले विशिष्ट कोट हो,” उहाँले भन्नुभयो, “यी दुवै स्थलको विकास र प्रवद्र्धनका लागि हामी निरन्तर प्रयासरत छौँ।”

नगरप्रमुख न्यौपानेका अनुसार म्याराथनले गलेखामकोटसँग भावनात्मक सम्बन्ध स्थापित गर्नसमेत सहयोग पु¥याएको छ । उहाँले आगामी दिनमा यस क्षेत्रको प्रचार–प्रसारका लागि स्थानीय तह, समुदाय र निजी क्षेत्र सबै लाग्नुपर्नेमा जोड दिनुभयो । खेललाई पर्यटनसँग जोड्ने रणनीतिअन्तर्गत नगरपालिकाले माघ १६ गते मानुङकोटदेखि पुलिमराङसम्म अल्ट्रा म्याराथन आयोजना गर्ने तयारी गरेको जानकारीसमेत उहाँले दिनुभयो ।

व्यास–६ का वडाध्यक्ष तथा नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरुङ ले गलेखामकोटलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

“यसले भोलिका दिनमा वडाको समग्र विकासमा टेवा पु¥याउनेछ,” उहाँले भन्नुभयो, “पर्यटन प्रवद्र्धन हुन सके स्थानीयको आर्थिक सशक्तीकरणमा प्रत्यक्ष लाभ पुग्नेछ ।”

यसैक्रममा बाह्रबिसे युवा क्लबले म्याराथनसँगै वडा स्तरीय भलिबल प्रतियोगिता पनि आयोजना गरेको छ, जुन भोलिदेखि सुरु हुनेछ । प्रतियोगितामा विजेताले रु ४० हजार, उपविजेताले रु २५ हजार तथा सेमिफाइनल पुग्ने दुई टोलीले जनही रु १० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
समुन्द्री सतहबाट करिब १,३०० मिटर उचाइमा अवस्थित गलेखामकोट प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त स्थान मानिन्छ ।

 

यहाँबाट व्यास र शुक्लागण्डकी नगरपालिका तथा लमजुङको मध्यनेपाल नगरपालिकाका केही भाग अवलोकन गर्न सकिन्छ । पृथ्वीराजमार्गअन्तर्गत कन्टारबाट पश्चिम लागेपछि साँगे हुँदै पुगिने यो स्थल सदरमुकाम दमौली नजिकै रहे पनि सडक असुविधाका कारण अपेक्षित रूपमा चर्चामा आउन सकेको छैन ।

गलेखामकोटमा नेवार समुदायको बाहुल्यता रहेको छ । विसं २०७६ मा निर्माण गरिएको तीनतले भ्युटावर बाट कास्कीको फेवाताल, माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी र मनास्लु हिमश्रृङ्खलासम्म देख्न सकिन्छ ।

बाइसे–चौबीसे राज्यकालमा चक्रधारी राजाले शासन गरेको इतिहास बोकेको यस क्षेत्रमा रहेको कोटभैरव मन्दिर मा बडादशैंको नवमीका दिन पञ्चबली दिने परम्परा आज पनि कायम छ ।

समग्रमा, व्यासगुफा–गलेखामकोट अल्ट्रा हाफ म्याराथनले खेलकुद, संस्कृति र पर्यटनलाई एउटै सूत्रमा बाँध्ने प्रयासका रूपमा स्थानीय तहमा सकारात्मक सन्देश दिएको छ । आगामी दिनमा यस्ता गतिविधिले ओझेलमा परेका गन्तव्यलाई उजागर गर्दै स्थानीय विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्