फुटबलसँगै नेपालीपन जोगाउँदै नर्थ क्याराइलिनामा आरटीपी दसैं कप

काठमाडौँ, ८ असोज । अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका लागि दसैं केवल पारिवारिक जमघट र टीकाको पर्व मात्र होइन, आफ्नो भाषा, संस्कृति र समुदायसँग जोडिने अवसर पनि बन्दै गएको छ । यही भावनालाई खेलकुदसँग जोड्दै अमेरिकाको नर्थ क्याराइलिनामा ‘आरटीपी दसैं कप’ फुटबल प्रतियोगिता सुरु भएको छ ।

दसैंको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा नेपाली समुदायका विभिन्न टोली सहभागी छन् । करिब एक महिनासम्म सञ्चालन हुने प्रतियोगिताले फुटबलको प्रतिस्पर्धासँगै नेपाली समुदायबीच भेटघाट, सहकार्य र आपसी सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।

नेपाली समुदायबीच एकता, आपसी भाइचारा तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले आरटीपी दसैं कप प्रत्येक वर्ष आयोजना हुँदै आएको हो । आयोजक विकास सापकोटाका अनुसार प्रतियोगिता सन् २०१७ देखि निरन्तर सञ्चालन हुँदै आएको छ । अमेरिकामा रहेर पनि नेपाली चाडपर्व, संस्कृति र परम्परालाई निरन्तरता दिने प्रयासस्वरूप प्रतियोगितालाई दसैंसँग जोडिएको हो ।

यस वर्ष प्रतियोगिताको आयोजनामा विकास सापकोटासहित जीवन न्यौपाने, दीप रिशाल, टंक सेलिङ, सौरवराज बिष्ट र सन्तोष गौतम सहभागी छन् । प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् । फरक–फरक स्थानमा रहेका नेपालीलाई एउटै मैदानमा भेला गराउने भएकाले प्रतियोगिता खेलकुदभन्दा बाहिरको सामाजिक गतिविधिका रूपमा पनि विकसित हुँदै गएको आयोजकको भनाइ छ ।

विदेशमा बसोबास गर्दा नेपाली चाडपर्व मनाउने शैलीमा परिवर्तन आए पनि समुदायलाई एउटै सूत्रमा बाँध्ने प्रयास भइरहेको छ । आरटीपी दसैं कपले त्यही प्रयासलाई खेलकुदमार्फत निरन्तरता दिएको छ । प्रतियोगितामा सहभागी खेलाडीका लागि फुटबल प्रतिस्पर्धा भए पनि मैदानबाहिर नेपाली समुदायसँग भेटघाट गर्ने र सम्बन्ध विस्तार गर्ने माध्यमसमेत बनेको छ ।

टिम चियाबारीका कप्तान मोहन सापकोटाले प्रतियोगिताले नेपाली डायस्पोराबीच सम्पर्क, सहकार्य र सम्बन्ध विस्तारमा योगदान पु¥याइरहेको बताउनुभयो । उहाँका अनुसार दसैंको अवसरमा आयोजना हुने भएकाले प्रतियोगिताले नेपाली पहिचान, संस्कृति र समुदायप्रतिको अपनत्वलाई थप बलियो बनाउन सहयोग गरिरहेको छ ।

आरटीपी दसैं कपमा खेलाडीका रूपमा सहभागी भूपाल कोइरालाले प्रतियोगिता सबै नेपालीको साझा कार्यक्रमका रूपमा विकास हुँदै गएको बताउनुभयो । उहाँका अनुसार यसको निरन्तरता र विस्तारसँगै अमेरिकामा रहेका नेपालीलाई एउटै साझा मञ्चमा जोड्ने अवसर सिर्जना भएको छ ।

प्रतियोगिताको अर्को महत्वपूर्ण पक्ष नयाँ पुस्ताको सहभागिता र त्यसबाट नेपाली संस्कृतिसँगको सम्बन्ध हो । अमेरिकामा हुर्किरहेका नेपाली मूलका बालबालिका तथा युवाका लागि यस्ता कार्यक्रमले नेपाली समुदायसँग प्रत्यक्ष सम्पर्क गर्ने अवसर प्रदान गर्छन् । खेलकुदको माध्यमबाट उनीहरूले नेपाली समुदायका अन्य परिवार र पुस्तासँग घुलमिल हुने वातावरण पाउने आयोजकको विश्वास छ ।

विशेषगरी दोस्रो पुस्ताका नेपाली युवालाई नेपाली चाडपर्व र संस्कृतिसँग जोडिराख्न समुदायस्तरका कार्यक्रम महत्वपूर्ण हुने आयोजकको भनाइ छ । दसैंसँग जोडिएको फुटबल प्रतियोगिताले उनीहरूलाई नेपाली समुदायको सामाजिक गतिविधिमा सहभागी गराउने र आफ्नो सांस्कृतिक पृष्ठभूमिसँग परिचित गराउने माध्यम बन्न सक्ने अपेक्षा गरिएको छ ।

आरटीपी दसैं कपको निरन्तरताले अमेरिकामा नेपाली समुदायले चाडपर्वलाई सामूहिक रूपमा मनाउने अभ्यासलाई समेत बलियो बनाएको छ । दसैंको अवसरमा फुटबल खेल्ने, नेपाली साथीभाइ तथा परिवारसँग भेटघाट गर्ने र समुदायका नयाँ सदस्यसँग परिचित हुने वातावरणले प्रतियोगितालाई सामाजिक जमघटको रूपसमेत दिएको छ ।

करिब एक महिना चल्ने प्रतियोगिताको मैदानमा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । तर आयोजकका लागि यसको उद्देश्य केवल विजेता टोली घोषणा गर्नुमा सीमित छैन । खेलकुदमार्फत नेपाली समुदायलाई नजिक ल्याउने, नयाँ पुस्तालाई समुदायसँग जोड्ने र विदेशमा पनि नेपाली चाडपर्व तथा सांस्कृतिक पहिचानलाई निरन्तरता दिने प्रयासका रूपमा आरटीपी दसैं कपलाई अघि बढाइएको छ ।

यसरी नर्थ क्याराइलिनामा सुरु भएको आरटीपी दसैं कपले फुटबलको प्रतिस्पर्धासँगै प्रवासमा नेपालीपन जोगाउने एउटा साझा अभ्यासलाई निरन्तरता दिएको छ । अमेरिकाको व्यस्त जीवनशैलीबीच दसैंको अवसरमा नेपालीलाई एउटै मैदानमा उतार्ने यो प्रतियोगिता खेलकुदसँगै समुदाय जोड्ने माध्यमका रूपमा स्थापित हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्