–गीता अधिकारी
काठमाडौँ, १ माघ । । बाल गायन तथा नृत्य प्रतियोगिता लिटल च्याम्पियन्स नेपाल–सिजन २ को भव्य ग्रान्ड फिनाले सम्पन्न भएको छ । मंगलबार काठमाडौंस्थित नेपाल पुलिस क्लबको सभाहलमा भव्य रूपमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । बालबालिकाको लुकेका प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा दर्शक, अभिभावक तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति थियो ।
ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको समग्र नेतृत्व तथा कार्यक्रम निर्देशन संस्थाकी म्यानेजिङ डाइरेक्टर तथा इभेन्ट डाइरेक्टर सबिना श्रेष्ठले गर्नुभएको थियो । उत्कृष्ट व्यवस्थापन, अनुशासित सञ्चालन र गुणस्तरीय प्रस्तुतिका कारण यस सिजनको ग्रान्ड फिनाले अत्यन्त प्रभावशाली बनेको उपस्थितहरूले प्रतिक्रिया दिएकाथिए ।
कार्यक्रमको होस्टिङ लोकप्रिय प्रस्तोता सोनित राज ढुंगेलले गर्नुभएको थियो । उहाँको ऊर्जाशील प्रस्तुति, सहज सञ्चालन र दर्शकसँगको समन्वयले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो ।
करिब दुई महिनासम्मको निरन्तर प्रशिक्षणपछि सम्पन्न ग्रान्ड फिनालेमा काठमाडौंका ४० भन्दा बढी विद्यालयबाट छनोट भएका ८० जना प्रतिभाशाली विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताले बालबालिकाको कला, आत्मविश्वास र मञ्चीय प्रस्तुतिलाई राष्ट्रिय स्तरमा चिनाउने प्रभावकारी प्लेटफर्मका रूपमा आफूलाई स्थापित गरेको छ ।
ग्रान्ड फिनालेमा चर्चित नृत्य कोरियोग्राफर सन्दीप भुजेल आधिकारिक डान्स कोरियोग्राफरका रूपमा रहनुभएको थियो । उहाँकै मार्गदर्शनमा शान्ति तामाङ, अश्बिन गुरुङ र युनिका खतिवडाले नृत्य प्रशिक्षण तथा कोरियोग्राफी गराउनुभएको थियो । गायन विधातर्फ चर्चित संगीत संयोजक बिभुशन राईले प्रतियोगीहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
निर्णायक मण्डल पनि अनुभवी तथा प्रतिष्ठित व्यक्तित्वहरूबाट गठन गरिएको थियो । नृत्य विधातर्फ वरिष्ठ कोरियोग्राफर प्रेमलाल श्रेष्ठ, कोरियोग्राफर तथा म्युजिक भिडियो निर्देशक प्रबिन थापा र मोडल तथा डान्सर कविता न्यौपाने निर्णायक रहनुभएको थियो । गायन विधातर्फ संगीत निर्देशक तथा गीतकार राजेन्द्रकुमार श्रेष्ठ, संगीत निर्देशक अलिश कार्की र गायिका जानुका तामाङ निर्णायकको भूमिकामा रहनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्ड नेपालका कार्यकारी अध्यक्ष, कलाकार, निर्देशक तथा निर्माता दिनेश डीसी रहनु भएको थियो । उहाँले बाल प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने यस्ता कार्यक्रमहरूको निरन्तरताको आवश्यकता औँल्याउँदै आयोजक टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
समारोहमा जुनियर डान्स विधामा शीर्ष विजेता श्रेया राई हुनुभयो भने मोस्ट पपुलर÷प्रथम उपविजेताः खुसी राई, पब्लिक च्वाइसः साल्सा केसी, दोस्रो उपविजेताः पुण्यशिला भुजेल, तेस्रो उपविजेताः माइरा राना मगर, चौथो उपविजेताः सीमा श्रेष्ठ, पाँचौँ उपविजेताः आहिल रेहान र छैटौँ उपविजेताः सारम्श ढुंगेल हुनुभयो ।
यस्तै, सिनियर डान्स विधामा शीर्ष विजेता ः रोमन घतानी हुनुभयो भने मोस्ट पपुलरः क्रिस्टिना खड्का, पब्लिक च्वाइसः प्रनिता तामाङ, प्रथम उपविजेताः शिवानी खड्का, दोस्रो उपविजेताः आन्याश्री खत्री, तेस्रो उपविजेताः अन्वी बनिया र चौथो उपविजेताः स्नेहा ढकाल चयन हुनुभयो ।
त्यसैगरी गायन विधामा शीर्ष विजेताः सप्रान्त तामाङ हुनुभयो भने मोस्ट पपुलरः स्वस्तिका तामाङ,पब्लिक च्वाइसः स्मारिका पाण्डे, प्रथम उपविजेताः एन्जल कार्की, दोस्रो उपविजेताः समृद्धि अधिकारी, तेस्रो उपविजेताः नयल बराइली र चौथो उपविजेताः आयुष्मा गुरुङ हुनुभयो ।
कार्यक्रमको समापनसँगै दर्शक, अभिभावक तथा अतिथिहरूले प्रतियोगीहरूको स्तर, प्रस्तुति र सम्पूर्ण व्यवस्थापनको खुलेर प्रशंसा गरेका थिए । ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्रा.लि.ले भविष्यमा पनि यस्ता गुणस्तरीय राष्ट्रियस्तरका कार्यक्रममार्फत नेपाली बाल प्रतिभालाई अगाडि ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्