काठमाडौँ, २८ पुस । नेपाली संगीत र अभिनय क्षेत्रका लागि गहिरो क्षतिका रूपमा गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । आइतबार बिहान भारतको दिल्लीस्थित एक अस्पतालमा कार्डियक अरेस्ट (मुटुको विद्युत् प्रणालीसम्बन्धी गडबडी) का कारण उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ४३ वर्षको उमेरमै जीवनयात्रा टुंग्याएका तामाङ पछिल्लो समय श्रीमती र छोरीसहित दिल्लीमा बस्दै भारतीय फिल्म तथा वेब सिरिजमा सक्रिय थिए ।
एक साधारण परिवारबाट असाधारण पहिचान बनाएका प्रशान्त तामाङको निधनले केवल नेपाली मनोरञ्जन उद्योग मात्र होइन, सीमा पारिका उनका शुभेच्छुक र दर्शक–स्रोतासमेत शोकाकुल बनेका छन् । गायन र अभिनय दुवै क्षेत्रमा आफ्नै शैली र संघर्षको कथा बोकेका उनी पछिल्लो एक दशकभन्दा बढी समयदेखि निरन्तर सिर्जनशील यात्रामा थिए ।
प्रशान्त तामाङलाई संगीतप्रेमीले विशेष गरी सन् २००७ मा ‘इन्डियन आइडल सिजन–३’को उपाधि जितेपछि चिने । लाखौँ प्रतिस्पर्धीबीच आफ्नो स्वर, प्रस्तुति र सरल व्यक्तित्वका कारण उनी विजेता बनेका थिए । उक्त उपलब्धिले उनलाई नेपाल र भारत दुवैमा व्यापक लोकप्रियता दिलायो ।
त्यो उपाधि केवल एक गायन प्रतियोगिताको जित मात्र थिएन, त्यो एक साधारण गोर्खाली युवाले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पहिचान स्थापित गरेको क्षण थियो । इन्डियन आइडलपछि उनले दर्जनौँ नेपाली तथा हिन्दी गीतमा स्वर दिए । नेपाली लोक, आधुनिक र चलचित्र गीतहरूमा उत्तिकै सहज देखिने तामाङका गीतहरू आम श्रोतामाझ लोकप्रिय बने ।
संगीतमा स्थापित भइसकेपछि प्रशान्त तामाङले अभिनय क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाए । सन् २०१० मा रिलिज भएको फिल्म ‘गोर्खा पल्टन’ बाट उनले फिल्म अभिनयमा डेब्यु गरे । सो फिल्म व्यावसायिक रूपमा सफल हुनुका साथै उनको अभिनय क्षमतालाई पनि दर्शकमाझ स्थापित गरायो ।
त्यसपछि उनले ‘अंगालो यो माया’, ‘परदेशी’ लगायतका नेपाली फिल्ममा अभिनय गरे । पछिल्लो पटक उनी नेपाली फिल्म ‘पहिचान’ मा देखिएका थिए। अभिनयमा पनि उनी सरल तर प्रभावशाली पात्र प्रस्तुत गर्न रुचाउने कलाकारका रूपमा चिनिन्थे ।
पछिल्ला वर्षहरूमा भने उनी भारतीय फिल्म र वेब सिरिजतर्फ बढी केन्द्रित थिए । चर्चित भारतीय वेब सिरिज ‘पाताल लोक–२’ मा उनले निभाएको डेनियल लीचू (स्नाइपर)को भूमिका समीक्षक र दर्शक दुवैबाट प्रशंसित रह्यो । यस भूमिकाले उनलाई गम्भीर र चुनौतीपूर्ण चरित्र निभाउन सक्ने कलाकारको रूपमा चिनायो ।
प्रशान्त तामाङका गीतहरू नेपाली संगीतप्रेमीका लागि भावनात्मक सम्झनाका रूपमा रहेका छन् । ‘मन साइँली’, ‘जाउँला रेलैमा सरर’, ‘सिरिमा सिरी बतासै चल्यो’, ‘अरे क्यानम्’, ‘रातो रानी’, ‘असारे महिनामा’ जस्ता गीतहरूले उनलाई घरघरमा चिनाए ।
उनका गीतहरूमा लोकपन, सरलता र आत्मीयता झल्किन्थ्यो, जसले श्रोतासँग सीधा सम्बन्ध बनाउँथ्यो । पछिल्लो समय भने उनी गायनभन्दा अभिनयमा बढी केन्द्रित थिए । भारतीय मनोरञ्जन उद्योगमा आफूलाई स्थापित गर्ने प्रयासमा उनी निरन्तर थिए ।
उनको निधनको खबर फैलिनासाथ नेपाली संगीत तथा फिल्म क्षेत्र स्तब्ध बनेको छ । कलाकार, निर्देशक, संगीतकर्मी र प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । धेरैले उनलाई संघर्षशील, अनुशासित र विनम्र कलाकारका रूपमा सम्झिएका छन् ।
प्रतिक्रिया दिनुहोस्