काठमाडौं, २७ पुस । नेपाली रजतपटमा प्रेम कथानक विधामा प्रतीक्षारत फिल्म ‘कुमारी’ ले प्रदर्शनअघि नै दर्शक र सांगीतिक पारखीबीच उल्लेखनीय उत्साह सिर्जना गर्न थालेको छ ।
आगामी माघ २३ गते देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मले परम्परागत प्रचार शैलीभन्दा फरक र सिर्जनात्मक बाटो रोज्दै संगीतलाई केन्द्रमा राखेर प्रवद्र्धन अभियान अगाडि बढाएको हो । यही क्रममा फिल्मको प्रचारका लागि ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ शीर्षकमा देशव्यापी सांगीतिक यात्रा आयोजना हुने घोषणा गरिएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा फिल्मका पाश्र्वगायक केहर सिंह लिम्बु र उनको लोकप्रिय ब्यान्ड ‘द लुङा’ ले सजीव सांगीतिक प्रस्तुति दिँदै कन्सर्टको आधिकारिक प्रोमो सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा उपस्थित कलाकार, सञ्चारकर्मी तथा फिल्मकर्मीहरूले फिल्म र संगीतबीचको सशक्त सम्बन्धलाई यस कन्सर्टले अझ बलियो बनाउने विश्वास व्यक्त गरेका थिए । प्रोमो सार्वजनिक भएसँगै फिल्म ‘कुमारी’को प्रचार अभियानले नयाँ उचाइ लिएको देखिएको छ ।
बिग मार्टको प्रस्तुतिमा र किङ्स हिल प्रिमियम पावरको मुख्य प्रायोजनमा सञ्चालन हुने यो एकीकृत प्रमोशनल टुर नेपालका प्रमुख सहरहरूमा केन्द्रित रहनेछ । आयोजकका अनुसार, माघ १ गते नेपालगन्जबाट सुरु हुने यो सांगीतिक यात्रा माघ ३ गते पोखरा, माघ ६ गते चितवन हुँदै माघ ९ गते काठमाडौंको भृकुटीमण्डपमा आइपुग्नेछ ।
काठमाडौंको कन्सर्टलाई विशेष बनाउँदै सोही अवसरमा फिल्मको आधिकारिक ट्रेलर सार्वजनिक गर्ने तयारी गरिएको छ, जसले दर्शकको कौतुहलता थप बढाउने अपेक्षा गरिएको छ । यसपछि टुर माघ १७ गते दमक पुगेर समापन हुनेछ ।
दमकमा आयोजना हुने अन्तिम कन्सर्टमा फिल्मका प्रमुख कलाकार अबिशेक खड्का र आकृति राजभण्डारी, साथै निर्देशक दिनेश राउत स्वयं उपस्थित रहनेछन् । यसले दर्शक र निर्माण टिमबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गर्ने विश्वास गरिएको छ । आयोजकका अनुसार, कन्सर्टमार्फत फिल्मको कथावस्तु, भावनात्मक पक्ष र संगीतलाई दर्शकसँग नजिकबाट जोड्ने प्रयास गरिएको हो ।
फिल्म ‘कुमारी’को प्रचारमा संगीतले विशेष भूमिका खेलेको देखिन्छ । पछिल्लो समय सार्वजनिक भएको ‘डोको बुन्ने निगालो चोयाले’ बोलको गीतले दर्शक र श्रोता माझ उल्लेखनीय चर्चा बटुलेको छ ।
लोक–आधुनिक स्वाद मिसिएको यस गीतमा केहर सिंह लिम्बुको स्वर र सुमन तामाङको संगीत रहेको छ । गीतले प्रेम, संस्कृति र स्थानीय जीवनशैलीलाई सरल तर गहिरो भावमा प्रस्तुत गरेको भन्दै सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
निर्देशक दिनेश राउतले फिल्म र संगीतलाई अलग–अलग होइन, एउटै उत्सवका रूपमा प्रस्तुत गर्ने उद्देश्यले यो देशव्यापी सांगीतिक टुरको अवधारणा अघि सारिएको बताउनुभएको छ ।
उहाँका अनुसार, ‘कुमारी’ केवल प्रेम कथा मात्र नभई भावनात्मक सम्बन्ध, सांस्कृतिक पृष्ठभूमि र जीवनका सूक्ष्म अनुभूतिहरूको कथा हो, जसलाई संगीतमार्फत अझ प्रभावकारी रूपमा दर्शकसम्म पु¥याउन खोजिएको हो ।
विकास सुवेदीको लेखन रहेको यस फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्नुभएको हो। निर्माण पक्षले ‘कुमारी’ले नेपाली प्रेम कथामा नयाँ स्वाद र संवेदनशील प्रस्तुति थप्ने विश्वास व्यक्त गरेको छ ।
सशक्त कथा, अनुभवी निर्देशक, चर्चित कलाकार र प्रभावशाली संगीतको संयोजनले ‘कुमारी’ माघ २३ पछि नेपाली सिनेमा हलहरूमा दर्शकको ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्