नेपालमा कमाई गर्न नसकेको फिल्मले विदेश प्रदर्शनबाटै लगानी उठाउने

 

काठमाडौं, १२ पुस । नेपालमा अपेक्षाकृत कमाई गर्न नसकेको फिल्मको अब विदेश प्रदर्शनबाटै लगानी उठाउने तयारी निर्माताको छ ।
गत मंसिर २९ गतेबाट प्रदर्शनमा आएको उदय सुब्बाद्वारा निर्देशित फिल्म ‘दुई कदम’को अब विदेश प्रदर्शन थालिने भएको छ ।

फिल्मको पहिलो विदेश प्रदर्शन हङकङमा हुनेछ । अंग्रेजी नयाँ वर्ष २०२३ को छेको पारेर यही ३१ डिसेम्बर अर्थात् पुष १५ गते हङकङमा फिल्मको प्रिमियर गर्न लागिएको हो । प्रिमियरमा सहभागी हुन फिल्मका अभिनेता इओन लिम्बु हङकङ जानेछन् । हङकङमा फिल्मको प्रिमियर गंगा लिम्बुले आयोजना गर्न लागेकी हुन् । उनी फिल्मकी निर्मात्री समेत हुन् । जिएच वाम्पोअ सिनेमा हलमा राखिएको प्रिमियर साँझ ७ बजेदेखि सुरु हुनेछ । प्रिमियरका लागि उल्लेख्य मात्रामा टिकट बिक्री भएको आयोजक लिम्बुले बताएकी छन् ।

विक्रम डिसीको छायांकन रहेको फिल्ममा इओनसँगै सिमोन गिरी, गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा आदिको पनि अभिनय छ । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मकी निर्मात्री तारा देवी लिम्बु हुन् । यही फिल्मबाट इओन र सिमोनले डेब्यू गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्