भलिबल प्रतियोगितामा पुलिस क्लब सेमिफाइनलमा प्रवेश

 

काठमाडौँ, १६ पुस । विभागीय टोली नेपाल पुलिस क्लबले नवौँ संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा पुलिस क्लबले सशक्त प्रतिस्पर्धी नेपाल एपिएफ क्लबलाई पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।

उत्कृष्ट प्रतिस्पर्धा र रोमाञ्चले भरिएको उक्त खेलमा नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबलाई ३–२ को सेट अन्तरले पराजित गर्न सफल भयो । खेलको पहिलो सेटमा पुलिसले सन्तुलित र आक्रामक खेल प्रस्तुत गर्दै २५–२१ को जित निकाल्यो । दोस्रो सेटमा पनि पुलिसको दबदबा कायमै रहँदा टोलीले २५–१५ को स्पष्ट जित दर्ता ग¥यो ।

तर तेस्रो सेटदेखि एपिएफ क्लबले खेलमा पुनरागमन गर्दै प्रतिस्पर्धालाई थप रोचक बनायो । एपिएफले तेस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किने संकेत दियो । चौथो सेटमा पनि एपिएफले निरन्तरता कायम राख्दै २५–२१ को जित निकाल्यो र खेललाई निर्णायक पाँचौँ सेटमा पु¥यायो ।

निर्णायक सेटमा भने नेपाल पुलिस क्लबले अनुभव र आत्मविश्वासका साथ खेल आफ्नो पक्षमा पार्न सफल भयो । पुलिसले पाँचौँ सेट १५–९ ले जित्दै खेल ३–२ ले आफ्नो पक्षमा समाप्त ग¥यो । खेल अवधिभर दुवै टोलीले उच्चस्तरीय खेल प्रदर्शन गर्दा दर्शकहरू रोमाञ्चित बनेका थिए ।

यस जितसँगै नेपाल पुलिस क्लबले प्रतियोगितामा लगातार दोस्रो जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि पुलिसले सुदूरपश्चिम प्रदेशविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै प्रतियोगिताको सुरुआत गरेको थियो । लगातार दुई जितसहित पुलिसले समूह चरणमा आफ्नो सशक्त उपस्थिति पुष्टि गरेको छ ।

यता नेपाल एपिएफ क्लबका लागि यो प्रतियोगिताको पहिलो हार हो । यसअघि एपिएफले सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशलाई दुवै खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै प्रभावशाली सुरुआत गरेको थियो । पुलिसविरुद्धको खेलमा हार बेहोरे पनि एपिएफले उच्च प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेको देखियो ।

नवौँ एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिपमा विभागीय टोलीसँगै प्रदेशस्तरीय टोलीहरूको सहभागिता रहेको छ । प्रतियोगिताले नेपाली भलिबलको स्तर उकास्ने, नयाँ प्रतिभा पहिचान गर्ने तथा खेलाडीलाई राष्ट्रिय मञ्चमा आफ्नो क्षमता देखाउने अवसर प्रदान गरिरहेको छ ।

आयोजक नेपाल भलिबल संघका अनुसार प्रतियोगितामा महिला तथा पुरुष दुवै विधामा प्रतिस्पर्धा भइरहेको छ । समूह चरणपछि सेमिफाइनल र फाइनल खेलमार्फत च्याम्पियन टोलीको टुंगो लगाइनेछ । दर्शकहरूको उत्साहजनक उपस्थिति र खेलाडीहरूको प्रतिबद्ध प्रदर्शनले यस वर्षको प्रतियोगिता अझ रोमाञ्चक बन्दै गएको आयोजकको भनाइ छ ।

नेपाल पुलिस क्लबको सेमिफाइनल प्रवेशसँगै महिलातर्फको उपाधि दौड थप रोचक बनेको छ । आगामी खेलहरूमा कुन टोलीले फाइनल यात्रा तय गर्ने भन्ने विषयले भलिबलप्रेमीको ध्यान केन्द्रित गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्