रवि, बालेन र कुलमानबीच सात बुँदे सहमति

 

काठमाडौँ, १५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नेतृत्व संरचना र आगामी राजनीतिक रणनीतिसम्बन्धी छलफलले नयाँ मोड लिएको छ । पार्टी सभापति रवि लामिछाने र अभियन्ता कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने विषयमा सहमति भएको छ ।

सहमतिमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने र कुलमानका तर्फबाट उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएके छ भने बालेन शाह साक्षी बस्नुभएको छ ।

यस्तो छ सहमतिका सात बुँदा–

१. नवयुवाहरू (न्भल–श्) ले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने,

२. उज्यालो र आत्मनिर्भर अर्थतन्त्र डेलिभरीमा आधारित राजनीति, योग्यताप्रणाली (ःभचष्तयअचबअथ) को स्थापना, भ्रष्टाचार शून्य सहनशीलता र सुशासन प्रति प्रतिबद्ध रहँदै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोस्रो पक्षबिच एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी“, झन्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बिचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह ’घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने,

५. उज्यालो नेपालको अभियानलाई अपनत्व लिई राष्ट्रिय स्वतन्त्र पार्टीको कर्यक्रमहरु सँग जोड्दै, एकता पश्चात् पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ’घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तन कामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने ।

यस सहमतिले पार्टीभित्र देखिएको असमझदारीलाई व्यवस्थापन गर्दै संगठनात्मक स्थायित्व र एकताको सन्देश दिने अपेक्षा गरिएको छ ।
त्यस्तै, समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभाका लागि पेस गरिने उम्मेदवार सूचीमा कुलमान घिसिङको टिमबाट १८ जना समावेश गर्ने विषयमा पनि सहमति जुटेको बताइएको छ ।

यसलाई पार्टीभित्र विभिन्न समूह र धारबीच सन्तुलन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ । रास्वपाले समानुपातिक सूची तयार गर्दा समावेशिता, योग्यता र संगठनात्मक योगदानलाई आधार बनाउने बताउँदै आएको छ ।

यसअघि पार्टी सभापति रवि लामिछाने र भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सार्ने विषयमा सहमति भइसकेको छ । उक्त सहमतिप्रति कुलमान घिसिङ असन्तुष्ट देखिएको चर्चा चल्दै आएको थियो । सोही असन्तुष्टिलाई सम्बोधन गर्न भन्दै पछिल्लो समय घिसिङ र पार्टी नेतृत्वबीच पटक–पटक छलफल भएको स्रोतको भनाइ छ ।

पार्टीभित्र देखिएको मतभिन्नता संवादमार्फत समाधान गर्नुपर्ने निष्कर्षसहित सोमबार काठमाडौँमा पुनः शीर्ष तहको छलफल भएको थियो । उक्त छलफलमा नेतृत्व संरचना, जिम्मेवारी बाँडफाँट, आगामी निर्वाचन रणनीति तथा पार्टीको दीर्घकालीन राजनीतिक दिशाबारे गम्भीर विचार–विमर्श भएको बताइएको छ । सोही छलफलबाट सहमतिको आधार तयार भएको स्रोतहरूले जनाएका छन् ।

रास्वपाभित्र पछिल्लो समय तीव्र राजनीतिक गतिविधि देखिँदै आएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गर्ने तयारी भइरहेका बेला नेतृत्व तहमा स्पष्टता र एकमत आवश्यक रहेको भन्दै पार्टीले आन्तरिक संवादलाई प्राथमिकता दिएको बुझिन्छ । कुलमान घिसिङसँगको सहमति पनि यही सन्दर्भमा भएको मानिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार घिसिङलाई उपसभापतिको जिम्मेवारी दिनु र उनको टिमलाई समानुपातिक सूचीमा समावेश गर्नु पार्टीको सांगठनिक विस्तार र विविध पृष्ठभूमिका व्यक्तिलाई समेट्ने रणनीतिसँग जोडिएको हुन सक्छ । यसले पार्टीभित्र देखिएको असन्तुलन कम गर्दै बाह्य रूपमा एकताबद्ध छवि प्रस्तुत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ । त्यसका लागि आन्तरिक एकता, स्पष्ट नेतृत्व संरचना र समावेशी प्रतिनिधित्व अपरिहार्य रहेको पार्टी नेतृत्वको बुझाइ छ । कुलमान घिसिङसँग भएको पछिल्लो सहमतिको प्रयासलाई सोही दिशामा उठाइएको कदमका रूपमा हेरिएको छ ।

आगामी दिनमा पार्टीले उक्त सहमतिलाई कसरी औपचारिक रूप दिनेछ र त्यसले रास्वपाको संगठन तथा निर्वाचन रणनीतिमा कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्