काठमाडौँ, १४ पुस । जेनजी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको २२औँ संस्करण यसै महिना पोखरामा आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत अवार्ड कार्यक्रम पुस २३ गते पोखरास्थित पोखरा सभागृहमा हुने जानकारी दिएको हो ।
यसअघि गत भदौ २९ गते आयोजना गर्ने तयारी गरिएको उक्त अवार्ड कार्यक्रम विभिन्न कारणले स्थगित गरिएको थियो । मञ्चका अध्यक्ष नीरञ्जन अधिकारीले पत्रकार सम्मेलनमा अवार्ड कार्यक्रमलाई नयाँ मितिमा सफलतापूर्वक सम्पन्न गर्न सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले खेलकुद क्षेत्रका प्रतिभालाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिने अवार्ड कार्यक्रमलाई निरन्तरता दिनु मञ्चको प्राथमिकता रहेको बताउनुभयो ।
यसै अवसरमा आजदेखि पिपल्स च्वाइस अवार्डतर्फ रोकिएको डिजिटल भोटिङ प्रक्रिया पुनः सुरु गरिएको जानकारी पनि दिइएको छ । मञ्चका महासचिव अञ्जन खड्काले विगतमा भोटिङ सुरु भइसकेका खेलाडीले प्राप्त गरेको भोटलाई यथावत् राखेर त्यही अवस्थाबाट भोटिङ प्रक्रिया अगाडि बढाइने स्पष्ट पार्नुभयो । “पहिले मनोनयनमा परेका खेलाडीले जति भोट प्राप्त गरेका थिए, त्यहीँबाट डिजिटल भोटिङ पुनः सुरु गरिएको छ,” उहाँले भन्नुभयो ।
पिपल्स च्वाइस अवार्ड अन्तर्गत यसपटक पाँच खेलाडी प्रतिस्पर्धामा छन् । जसमा उसु खेलका विजय सिन्जाली, क्रिकेटतर्फ पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल तथा टेबलटेनिसकी इभाना थापा मनोनयनमा पर्नुभएको छ । यी खेलाडीहरूमध्ये सर्वाधिक भोट प्राप्त गर्ने खेलाडी पिपल्स च्वाइस अवार्डबाट सम्मानित हुनेछन् ।
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड कार्यक्रमको अघिल्लो दिन अर्थात् पुस २२ गते पोखरामा एनएसजेएफ स्पोट्र्स समिट पनि आयोजना गरिनेछ । अध्यक्ष अधिकारीका अनुसार खेलकुद अवार्डलाई चलायमान र प्रभावकारी बनाउन स्पोट्र्स समिट आयोजना गर्न लागिएको हो ।
समिटमा पोखराको पर्यटन प्रवद्र्धन, खेलकुद र स्थानीय अर्थतन्त्रबीचको सम्बन्ध तथा खेलकुद पर्यटनका सम्भावनाबारे गहन छलफल गरिने उहाँले जानकारी दिनुभयो ।
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ अन्तर्गत यस वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गरिनेछ । ती विधामा वर्षको उत्कृष्ट खेलाडी (पुरुष), वर्षको उत्कृष्ट खेलाडी (महिला), वर्षको उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड तथा टिम अफ द इयर समावेश छन् ।
यीमध्ये वर्षको उत्कृष्ट खेलाडी (पुरुष), वर्षको उत्कृष्ट खेलाडी (महिला), वर्षका उत्कृष्ट प्रशिक्षक, वर्षको उत्कृष्ट युवा खेलाडी र पिपल्स च्वाइस अवार्ड गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । बाँकी अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
नेपालको खेलकुद क्षेत्रमा योगदान पु¥याउने खेलाडी, प्रशिक्षक तथा खेलकुद पत्रकारलाई सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड नेपाली खेलकुदको प्रतिष्ठित अवार्डका रूपमा परिचित छ ।
यसपटक पोखरामा आयोजना हुन लागेको अवार्ड कार्यक्रमले खेलकुदसँगै पर्यटन प्रवद्र्धनमा पनि सकारात्मक सन्देश दिने अपेक्षा आयोजकले व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्