चेपुवामा प¥यो नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’

 

काठमाडौँ, ४ पुस । नेपालका चलचित्र हल सञ्चालकहरूमा विदेशी र स्वदेशी फिल्मप्रति देखिँदै आएको व्यवहारगत विभेद फेरि एकपटक सतहमा आएको छ । ठूला विदेशी फिल्म प्रदर्शनमा आउँदा नेपाली फिल्मलाई सीमित शो, त्यो पनि कम दर्शक आउने अफ–टाइममा राख्ने प्रवृत्ति पुरानै हो । यही प्रवृत्तिको मार भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ले पनि खेप्नुपरेको छ ।

शुक्रबार नै हलिउडको बहुप्रतिक्षित फिल्म ‘अवतार ३’ प्रदर्शनमा आउँदैछ । विश्वव्यापी रूपमा चर्चामा रहेको यस फिल्मप्रति नेपाली दर्शकको आकर्षण पनि उल्लेखनीय देखिएको छ । यही कारण देखाउँदै देशका अधिकांश हलहरूले १० दिनअघि नै ‘अवतार ३’को अग्रिम टिकट बुकिङ खुला गरेका थिए ।

टिकट बिक्री पनि उत्साहजनक रहेको बताइन्छ । तर, यही लोकप्रियतालाई आधार बनाएर हल सञ्चालकहरूले ‘अवतार ३’लाई अत्यधिक प्राथमिकता दिँदा नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ शो बाँडफाँडमा स्पष्ट रूपमा पछाडि परेको देखिएको छ ।

बिहीबार मध्यान्हसम्मको तथ्यांक हेर्दा ‘अवतार ३’को अंग्रेजी र हिन्दी संस्करणलाई देशभर २०५ शो उपलब्ध गराइएको छ । काठमाडौँका केही मल्टीप्लेक्स हलहरूले त यो फिल्मलाई दिनमा ९ वटासम्म शो दिएका छन् । यसको ठीक विपरीत, ‘झरीपछिको इन्द्रेणी’लाई अधिकांश मल्टीप्लेक्सले शुक्रबारका लागि बढीमा दुई शो मात्र दिएका छन् ।

कतिपय हलमा त एउटा मात्रै शो उपलब्ध छ । डिजिटल टिकटिङ प्लेटफर्म खल्ती एपमा देखिएअनुसार हालसम्म यो फिल्मले देशव्यापी जम्मा ५२ शो मात्र पाएको छ, जुन ठूला विदेशी फिल्मको तुलनामा निकै न्यून हो ।

यसरी शो सङ्ख्यामा ठूलो असमानता देखिँदा स्वदेशी फिल्म उद्योगप्रति हल सञ्चालकहरूको दृष्टिकोणमाथि पुनः प्रश्न उठेको छ । नेपाली फिल्मलाई सुरुआती दिनमै पर्याप्त शो नदिँदा दर्शकसम्म पुग्ने अवसर सीमित हुने र त्यसको प्रत्यक्ष असर बक्स अफिस व्यापारमा पर्ने चिन्ता निर्माता तथा चलचित्रकर्मीहरूले व्यक्त गर्दै आएका छन् । ‘झरीपछिको इन्द्रेणी’ पनि यही अवस्थाबाट गुज्रिरहेको देखिन्छ ।

यद्यपि अपेक्षाअनुसार शो नपाएको अवस्थामा पनि ‘झरीपछिको इन्द्रेणी’ले केही हलमा उत्साहजनक टिकट बिक्री देखाएको छ । केही शो त ‘सोल्डआउट’ समेत भएका छन् । यसले दर्शकमा फिल्मप्रति चासो रहेको संकेत गरेको छ ।

यदि प्रारम्भिक दर्शकबाट सकारात्मक प्रतिक्रिया आयो र ‘वर्ड अफ माउथ’ बलियो बन्न गयो भने शनिबारदेखि शो स्वतः वृद्धि हुन सक्ने अपेक्षा गरिएको छ । तर, बक्स अफिसमा ‘अवतार ३’जस्तो विश्वव्यापी ठूला बजेटको फिल्मसँग प्रतिस्पर्धा गर्नु ‘झरीपछिको इन्द्रेणी’का लागि सहज भने देखिँदैन ।

हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा तयार भएको ‘झरीपछिको इन्द्रेणी’मा अर्जुन घिमिरे स्वयंका साथै गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपालीलगायत कलाकारहरूको अभिनय रहेको छ ।

विशेष रूपमा अभिनेता गणेश उप्रेतीले यसै फिल्ममार्फत करिब नौ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेका छन्, जसले फिल्मप्रति दर्शकको उत्सुकता बढाएको छ ।
नेपाली फिल्म उद्योगको दीर्घकालीन विकासका लागि स्वदेशी फिल्मलाई समान अवसर र सम्मान दिनु आवश्यक रहेको सरोकारवालाहरूको धारणा छ ।

विदेशी फिल्मप्रति दर्शकको आकर्षण स्वाभाविक भए पनि स्वदेशी सिर्जनालाई सुरुआती चरणमै दबाबमा पार्ने प्रवृत्तिले उद्योगलाई कमजोर बनाउने चेतावनी चलचित्रकर्मीहरूले दिँदै आएका छन् । ‘झरीपछिको इन्द्रेणी’को उदाहरणले यो बहसलाई फेरि एकपटक जीवित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्