भक्तपुर, २४ मंसिर । जनप्रेमी वल्र्ड स्कुल भक्तपुरले आयोजना गरेको ‘जेडब्लुएस खेलकुद सप्ताह’ मंगलबारदेखि सानोठिमीस्थित मध्यपुर युथ एसोसिएसन खेल मैदानमा सुरु भएको छ । एक सातासम्म चल्ने यस प्रतियोगितामा करीब एक हजार ८०० विद्यार्थीले २० विभिन्न खेल विधामा सहभागिता जनाएका छन् ।
प्रतियोगिताको उद्घाटन मध्यपुरथिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले मध्यपुरथिमि नगरपालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुँदै आएकामा गर्व व्यक्त गर्नुभएको छ । शिक्षा र खेलकुदलाई समान रूपमा विकासको आधार बनाई नगरले विभिन्न कार्यक्रम अघि बढाइरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार, नगरपालिकाले खेलकुदको संरचना तथा क्षमता वृद्धि गर्न प्रत्येक वर्ष छुट्टै बजेट विनियोजन गर्दै आएको छ । वडा–वडामा स्थानीय स्तरमै प्रशिक्षणका कार्यक्रम सञ्चालन भइरहेका छन् भने विद्यालयस्तरीय खेलकुदलाई उच्च प्राथमिकता दिएर प्रतिभा पहिचान तथा विकासमा जोड दिइएको छ ।
उद्घाटन कार्यक्रममा जनप्रेमी वल्र्ड स्कुलका प्रिन्सिपल निलेश आचार्यले विद्यालयले हरेक वर्ष खेलकुद सप्ताह आयोजना गर्दै विद्यार्थीलाई खेलकुद माध्यमबाट अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता विकास गराउँदै आएको बताउनुभयो ।
उहाँले विद्यालयले दीर्घकालीन रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित नियमित प्रशिक्षण, प्रतियोगिता र खेलकुद संरचना विकासमा लगानी गर्दै आएको बताउनुभयो । आचार्यका अनुसार, प्रतियोगितामा विजयी टोली तथा खेलाडीलाई सिल्ड, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ ।
यसैगरी,कार्यक्रमको विशेष आकर्षण हालै इजिप्टमा सम्पन्न विश्व च्याम्पियन कराते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका दुई खेलाडी—एरिका गुरुङ र सानुमाया थिङलाई गरिएको सम्मान थियो । विद्यालयले दुबै खेलाडीलाई नगद पाँच–पाँच हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको छ ।
सम्मानपत्र नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ र विद्यालयका प्रिन्सिपल निलेश आचार्यले प्रदान गर्नुभयो । नगद पुरस्कार विद्यालयका अध्यक्ष मनोज आचार्यले हस्तान्तरण गर्नुभयो ।
विद्यालयले अन्तर्राष्ट्रिय स्तरमा विद्यालय, समुदाय र देशको मान बढाउने खेलाडीहरूको मनोबल बढाउन निरन्तर प्रोत्साहन गर्दै आएको बताइएको छ । यही क्रमलाई अगाडि बढाउँदै प्रिन्सिपल आचार्यले आगामी वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीलाई प्रति व्यक्ति ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा पनि गर्नुभएको छ ।
खेलकुद सप्ताह मार्फत विद्यार्थीको शारीरिक क्षमता, समूहगत समन्वय, अनुशासन र नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास आयोजकहरूले लिएका छन् । जनप्रेमी वल्र्ड स्कुलका अनुसार, प्रत्येक विद्यार्थीको क्षमता अनुसार अवसर प्रदान गर्ने र विद्यालयस्तरमै खेलकुदलाई समावेश गरी भविष्यका खेलाडी तयार पार्नु विद्यालयको मूल लक्ष्य हो ।
उद्घाटन समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो । कार्यक्रमसँगै विभिन्न खेलतर्फ प्राथमिक छनोट तथा प्रारम्भिक प्रतिस्पर्धा पनि सुरु गरिएको विद्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्