काठमाडौँ, १६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस २६ देखि २८ गतेसम्म तोकिएको १५ औँ महाधिवेशन समयमै सम्पन्न नहुने संकेत देखिएमा पार्टीमा ‘विशेष महाधिवेशन’ अपरिहार्य रूपमा हुने चेतावनी दिनुभएको छ । सोमबार सानेपामा बसेको केन्द्रीय समिति बैठकले सर्वसम्मत रूपमा नियमित महाधिवेशन गर्ने निर्णय गरेपछि पत्रकारहरूसँग कुरा गर्दै शर्माले यस्तो चेतावनी दिनुभएको हो ।
उहाँका अनुसार पार्टीले निर्वाचन प्रक्रिया नजिकिँदै गरेको भन्दै औपचारिक रूपमा पुस अन्तिम सातामै महाधिवेशनको मिति टुंग्याएको हो । तर, महाधिवेशन समयमै गर्नुपर्ने कर्तव्यप्रति कसैले शंका वा ढिलासुस्तीको संकेत देखाए विशेष महाधिवेशन आह्वान हुने वातावरण पहिले नै बनिसकेको उहाँले बताउनुभयो ।
महामन्त्री शर्माले भन्नुभयो “महाधिवेशनका लागि मिति त तोकियो, तर निर्वाचनका कारण मिति अग्रिम तोकिएको मात्रै हो । महाधिवेशन हुन्छ कि हुँदैन भन्ने द्विविधामा कोही भए, त्यो गलत हो । यदि अलमल भयो भने विशेष महाधिवेशन निस्कन्छ ।”
उहाँले थप स्पष्ट पार्दै कांग्रेसभित्र विशेष महाधिवेशन आह्वान गर्न आवश्यक ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार यो हस्ताक्षर अभियानै विशेष महाधिवेशनका विकल्पलाई जगेर्ना गर्ने उद्देश्यले तयार पारिएको हो ।
“विशेष महाधिवेशनका लागि साथीहरूले गरेको हस्ताक्षर यही सानेपा केन्द्रीय कार्यालयमा सुरक्षित छ,” उहाँले पत्रकारहरूसँग भन्नुभयो, “यदि कसैलाई लाग्छ सभापतिले मिति घोषणा गरे पनि महाधिवेशन हुँदैन भने, त्यो भ्रम हटाउन चाहन्छु । आवश्यक परे विशेष महाधिवेशन हुन्छ ।”
कांग्रेसभित्र पछिल्ला दिनहरूमा क्रियाशील सदस्यता, संगठन संरचना र आन्तरिक तयारबीच विभिन्न धारणा सार्वजनिक भइरहेका बेला महामन्त्री शर्माको अभिव्यक्ति महत्वपूर्ण मानिएको छ । पार्टीको निर्णयले महाधिवेशन मिति तोके पनि त्यसलाई कार्यान्वयन गर्ने आन्तरिक गति एकमत नदेखिएको चर्चाको बीच शर्माले स्पष्ट चेतावनी दिएर पार्टीमा अनुशासन र समयसीमा पालनामा जोड दिनुभएको छ ।
महामन्त्री शर्माका अनुसार पार्टी नेतृत्वले महाधिवेशन तयारीलाई अब ढिलासुस्ती गर्न नपाइने मोडमा लैजानेछ । क्रियाशील सदस्यता वितरणदेखि सबै तहका अधिवेशन पूरा गर्ने प्रक्रियालाई गति दिएर पुस २६ देखि २८ सम्मको महाधिवेशन निर्विघ्नरूपमा सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । कांग्रेसभित्र महाधिवेशनबारे उठ्न थालेका शंका र भ्रममा उहाँले दिएको यस स्पष्टीकरणले आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्