काठमाडौं, ललितपुर, कास्की, झापा र पर्सामा कफ्र्यू आदेश जारी

काठमाडौं, २४ भदौ । जेनजी आन्दोलनलाई लक्षित गर्दै काठमाडौं, ललितपुर, कास्की, झापा र पर्सामा कफ्र्यू आदेश जारी भएको छ ।
काठमाडौंमा अनिश्चितकालीन कफ्र्यू आदेश जारी भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल जोशीले मंगलबार बिहान साढे ८ बजेदेखि लागू हुने गरी काठमाडौं महानगरको चक्रपथभित्र कफ्र्यू आदेश जारी गरेका हुन् ।

प्रशासनले जारी गरेको सूचनामा काठमाडौं महानगरमा पर्ने बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू–भागमा कफ्र्यू आदेश जारी गरिएको उल्लेख छ ।

कफ्र्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वहान, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुवाट सहजीकरण हुने प्रशासनले जनाएको छ ।

जेन–जीले काठमाडौंमा सोमबार गरेको प्रदर्शन क्रममा १९ जनाको मृत्यु भएको थियो ।

यस्तै, जेनजी आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार बिहान कफ्र्यु आदेश जारी गरेको छ । बिहान ७ बजेदेखि रातिको १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०८८ को दफा ६ को बमोजिम ललितपुर जिल्लाको विभिन्न स्थानमा कफ्र्यु लगाइएको हो ।

ललितपुर महानगरपालिका, वडा नं. २, ४, ५, १५ र २४ भित्रका क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कफ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।

वडा नं. ४, ५, १५ र २४ को भैंसेपाटी क्षेत्र, वडा नं. २ सानोपा स्थित इन्द्रायणी मार्ग आसपास क्षेत्र, वडा नं. १ को च्यासल क्षेत्रमा कफ्र्यु आदेश लागु हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, वीरगन्ज महानगरपालिकाको बजार क्षेत्रमा मंगलबार बिहान ९ बजेसम्म कफ्र्यु लगाइएको छ । सोमबार बेलुकी बसेको जिल्ला सुरक्षा समिति बैठकको निर्णयअनुसार स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो ।

राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा जेन–जी प्रदर्शनमा सुरक्षाकर्मीले गरेको दमनको विरोधमा वीरगन्जमा सोमबार बेलुका प्रदर्शन भएको थियो ।
यस्तै, झापा जिल्ला प्रशासन कार्यालयले मंगलबार पनि कफ्र्यु आदेश जारी गरेको छ ।

जेन–जीको प्रदर्शनलाई मध्यनजर गर्दै झापाका प्रमुख जिल्ला अधिकारीले बिर्तामोड नगरपालिकाका आसपासका क्षेत्रमा बिहान साढे आठ बजेदेखि बिहीबार बिहान ५ बजेसम्म कफ्र्यु आदेश जारी गरेको हो ।

उता,कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीद, राष्ट्रबैंक चोक, मुख्यमन्त्रीको कार्यालय आसपासको क्षेत्रमा निषेधाज्ञा निषेधाज्ञा जारी भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्