काठमाडौँ, १४ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नुपर्ने जरुरी रहेको बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट) को १२औँ प्रतिनिधि परिषद् बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आर्थिक र सामाजिक देखिएका समस्यालाई योजनाबद्ध ढङ्गले समाधान गर्नका लागि तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नुपर्ने धारणा राख्नुभयो ।
महासचिव पोखरेलले पछिल्लो समयमा तीव्रताका साथ सामाजिक विकास भए पनि त्यही गतिमा आर्थिक विकास हुन नसकेको बताउनुभयो । उहाँले कमजोर राज्यले श्रमजीवी वर्गलाई अधिकार सम्पन्न गराउन नसक्ने भन्दै मुलुकलाई बलियो बनाउन श्रमजीवी बलियो बन्नुपर्नेमा जोड दिनुभयो ।
महासचिव पोखरेलले पार्टी नेतृत्व बलियो र पारदर्शी हुनुपर्ने उल्लेख गर्दै पार्टीमा लागू गरिएको ७० वर्ष उमेरको हद लोकतान्त्रिक मूल्यमान्यताको विशेषताविपरीत नभएको बताउनुभयो । “७० वर्ष उमेर हटाउँदा जनताको बहुदलीय जनवाद (जबज)को मूल मान्यतामा कहाँनेर असर पर्दछ?”, उहाँले प्रश्न गर्नुभयो, “जबज नपढिकन यसको प्रवक्ता बन्ने खोज्ने प्रवृत्ति छ । पार्टीको लोकतान्त्रिकीकरणको मूल मान्यताबाट पार्टी नेतृत्व तलमाथि भएको छैन ।”
महासचिव पोखरेलले राष्ट्रिय महाधिवेशनमा उम्मेदवार बन्ने सबैको अधिकार सुरक्षित रहेको भन्दै जनमतबाट नेतृत्व छान्ने अधिकार प्रतिनिधिहरूमा हुने उल्लेख गर्नुभयो । उहाँले दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राख्नुहोला भन्ने कल्पना बाहिर रहेको विचार राख्नुभयो । उहाँले एमालेको नवौँ केन्द्रीय कमिटी बैठकको निर्णयले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सम्मानित भएर बस्नुपर्छ भनेर दृष्टिकोण सार्वजनिक गरेको जानकारी दिनुभयो ।
जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमको सम्मान भएमात्र मुलुक समृद्धितिर जाने भन्दै सरकारले श्रमिकका समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्