काठमाडौँ १२ मङ्सिरः प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले जनताको भरोसा अभिवृद्धि हुनेगरी काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज सरुवा भई विभिन्न कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक (एसपी)सँगको भेटमा उहाँले नागरिकमैत्री, पारदर्शी, उत्तरदायी तथा प्रभावकारी सेवा प्रवाहमार्फत जनताको भरोसा अभिवृद्धि हुने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको हो ।
उहाँले छिटोछरितो, सहज र प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । प्रहरी महानिरीक्षक केसीले आफ्नो कार्यक्षेत्रमा रहेका सम्भावित सुरक्षा चुनौतीको पहिचान तथा विश्लेषण गरी आवश्यकताअनुसार सुरक्षा योजना र रणनीति तयार गरेर योजनाबद्ध रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो ।
साइबर अपराध, सीमा अपराध, तस्करी नियन्त्रण, हातहतियार बरामद तथा फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो । प्रहरी कर्मचारी व्यावसायिक, अनुशासित, निष्ठावान् र इमानदार भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अल्पसङ्ख्यक समुदायप्रति थप संवेदनशील हुनुपर्ने उहाँको भनाइ थियो ।
पीडितका गुनासोलाई उचित सम्बोधन गर्न तथा प्रहरी कार्यालयबाट प्रदान गरिने सेवालाई अझ सहज, सरल र नागरिकमैत्री बनाउनुपर्ने उहाँले बताउनुभयो । आधारभूत तहका प्रहरी कर्मचारीका गुनासोलाई विशेष प्राथमिकतामा राखेर सम्बोधन गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यालय व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताउँदै उहाँले भीड नियन्त्रणका क्रममा बल प्रयोगसम्बन्धी सिद्धान्तको अवलम्बन गरी संवेदनशीलताका साथ कार्य गर्नुपर्ने उल्लेख गर्नुभयो । आफ्नो कार्यक्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न तथा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गरी कार्यसम्पादन गर्न समेत उहाँले निर्देशन दिनुभयो ।
भेटमा प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (डिआईजी) अबिनारायण काफ्लेसहित वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्