‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक

 

काठमाडौं, २५ कात्तिक । प्रदर्शन मिति नजिकिँदै गर्दा नेपाली कथानक चलचित्र ‘जलाकी’ले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएको छ । यसैक्रममा चलचित्रमा समावेश रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक गरिएको छ । प्रेमिल भावनालाई केन्द्रमा राखिएको गीतको भिडियोमा चलचित्रका दुई मुख्य जोडीको प्रेम सम्बन्ध र आत्मीयतालाई प्रस्तुत गरिएको छ ।

आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको सार्वजनिक गीतमा रोहित सोनार र मेलिना राईको स्वर रहेको छ । राम अविरल बिष्टको शब्द रचना रहेको गीतमा सरित रायनले संगीत संयोजन तथा कम्पोज गर्नुभएको छ । प्रेममा परेका दुई व्यक्तिबीचको आकर्षण, आत्मीयता र भावनात्मक सम्बन्धलाई गीतले अभिव्यक्त गरेको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार उपासना सिंह ठकुरी र सोनम तोप्देन तथा अस्तित्व भट्टचन र साहारा हाङमा लिम्बूलाई प्रस्तुत गरिएको छ । भिडियोमा विशेषगरी एउटै कलेजमा अध्ययन गर्ने उपासना र सोनमबीच विकसित हुने प्रेम सम्बन्धलाई दृश्यात्मक रूपमा देखाइएको छ ।

उनीहरूले सँगै बिताएका प्रेमिल क्षण र आपसी सामीप्यलाई भिडियोमा समेटिएको छ । दुवै कलाकारबीचको केमेस्ट्रीले गीतको रोमान्टिक भावलाई थप आकर्षक बनाएको देखिन्छ । चलचित्रमा दुई जोडीको प्रेमकथासँगै मगर समुदायको संस्कृति, परम्परा र आस्थासँग जोडिएको विषयवस्तुलाई पनि महत्त्व दिइएको छ ।

मगर समुदायको सांस्कृतिक तथा धार्मिक आस्थाको प्रतीक मानिने ढुंगाको स्तम्भलाई कथाको केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्रले त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गर्नेछ । यसरी प्रेमकथामार्फत सांस्कृतिक पहिचान र समुदायको मौलिक पक्षलाई पर्दामा उतार्ने प्रयास चलचित्रको विशेषताका रूपमा रहेको छ ।

अशोक थापा मगरको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा उपासना सिंह ठकुरी, सोनम तोप्देन, अस्तित्व भट्टचन र साहारा हाङमा लिम्बूसहित विजय लामा, शिल्पा मास्के, राजु रेग्मी मगर, भावना मगर, माओत्से गुरुङ, बुद्धि तामाङ र उषा खड्गीलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको निर्माण ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर, बेताने मगर, सुस्मिता बुढाथोकी र राधा थापाले गर्नुभएको हो । चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायांकन र निर्देशक अशोक थापा मगरको सम्पादन रहेको छ ।

त्यसैगरी, चलचित्रको संगीत पक्षमा एसडी योगी र सरित रायनको योगदान रहेको छ भने ध्वनि संयोजन अमित श्रेष्ठले गर्नुभएको छ । चलचित्रका गीत तथा दृश्यलाई आकर्षक बनाउन सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगरले कोरियोग्राफी गर्नुभएको छ ।

‘पहिलो माया’ सार्वजनिक भएसँगै चलचित्रले आफ्नो प्रेमप्रधान पक्षलाई दर्शकमाझ परिचित गराउने प्रयास गरेको छ । गीतमा प्रस्तुत दुई जोडीको प्रेम सम्बन्ध र चलचित्रको मूल कथामा समेटिएको त्रिकोणात्मक प्रेमले दर्शकमा चलचित्रप्रति चासो बढाउने अपेक्षा निर्माण पक्षको रहेको छ ।

मगर समुदायको सांस्कृतिक आस्था र पहिचानलाई प्रेमकथासँग जोडेर प्रस्तुत गर्न खोजिएको ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउनेछ । चलचित्रले मौलिक सांस्कृतिक विषयवस्तु, प्रेम र सम्बन्धका भावनात्मक पक्षलाई एउटै कथामा समेटेर दर्शकमाझ पुग्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्