काठमाडौँ, २९ भदौ । नेपाली चलचित्रमा एक्सनको स्वादमार्फत दर्शकको ध्यान खिच्न सफल ‘१२ गाउँ’ अब युट्युबमा आइपुगेको छ । २०८१ सालको दसैँमा हलमा प्रदर्शन भएर व्यावसायिक चर्चा कमाएको यो चलचित्र शुक्रबार बुढा सुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
हलमा प्रदर्शन भएको करिब दुई वर्षपछि डिजिटल माध्यममा आएको ‘१२ गाउँ’को युट्युब यात्रा भने सामान्य रिलिजभन्दा केही फरक छ । चलचित्रको दोस्रो भाग ‘१२ गाउँ २’ प्रदर्शनको तयारीमा रहेको समयमा पहिलो भागलाई युट्युबमा ल्याइएको हो । यसले पुराना दर्शकलाई कथा सम्झाउनेसँगै पहिलो भाग हेर्न नपाएका दर्शकलाई सिक्वेलका लागि तयार पार्ने अवसर निर्माण टिमलाई दिएको छ । ‘१२ गाउँ २’ आगामी दसैँमा प्रदर्शनमा आउने तयारीमा रहेको छ ।
विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ’ एक्सन–थ्रिलर कथामा आधारित छ । चलचित्रले गाउँमा स्थापित एक शक्तिशाली व्यक्तिको हैकम र त्यसविरुद्ध हुने संघर्षलाई कथाको केन्द्रमा राखेको छ । शक्ति, प्रतिरोध, बदला र भावनात्मक सम्बन्धलाई एक्सनसँग जोडेर प्रस्तुत गरिएको चलचित्रमा मुरलीधरले शक्तिशाली पात्रको भूमिका निर्वाह गरेका छन् ।
चलचित्रको अर्को महत्वपूर्ण पक्ष अभिनेता समीर भट्टको पदार्पण हो । विराज भट्टका छोरा समीरले यही चलचित्रबाट नेपाली चलचित्रमा अभिनेताका रूपमा प्रवेश गरेका थिए । भारतमा मार्सल आर्ट तथा अभिनयको प्रशिक्षण लिएर आएका समीरलाई चलचित्रमा विशेषगरी एक्सन अवतारमा प्रस्तुत गरिएको थियो । उनको पहिलो चलचित्र भएकाले प्रदर्शनअघि नै समीरको अभिनय र एक्सनलाई लिएर दर्शकमाझ चासो देखिएको थियो ।
प्रदर्शनपछि ‘१२ गाउँ’ले हलमा दर्शकको राम्रो साथ पायो । चलचित्रले घरेलु बजारमा उल्लेख्य व्यापार गरेको थियो । निर्माण पक्षले चलचित्रले १९ करोड ९२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जनाएको छ ।
चलचित्रको सफलतासँगै यसको दोस्रो भाग निर्माणको बाटो खुलेको हो । ‘१२ गाउँ २’ अहिले निर्माण भइसकेको अवस्थामा पहिलो भागलाई युट्युबमा ल्याउनु सिक्वेलको प्रचारसँग पनि जोडिएको देखिन्छ । सिक्वेलका लागि नयाँ दर्शक तयार पार्न पहिलो भागलाई सहज रूपमा उपलब्ध गराउने रणनीति निर्माण पक्षले लिएको बुझिन्छ ।
‘१२ गाउँ’मा विराज र समीरसँगै सोनु चन्द्रपाल, दिया मास्के, मुरलीधर, सानिशा भट्टराई, नरेन खड्का, न्यान्सी खड्का, अर्जुनजंग शाही, कनिज कोइराला, सन्तोष सरकार, सुलेमान शंकर ‘इकु’, कृष्ण भट्ट, कालु राना लगायत कलाकारको अभिनय छ । दक्षिण भारतीय स्टन्ट निर्देशक सिल्भाको संलग्नताले पनि चलचित्रको एक्सन पक्षलाई चर्चामा ल्याएको थियो ।
अब युट्युबमा सार्वजनिक भएसँगै ‘१२ गाउँ’ले हलमा छुटेको दर्शकसम्म पुग्ने बाटो पाएको छ । विशेषगरी दोस्रो भागको प्रदर्शन नजिकिँदै गर्दा पहिलो भाग डिजिटल माध्यममा उपलब्ध हुनुले चलचित्रको कथासँग नयाँ दर्शकलाई जोड्ने र पुराना दर्शकमा फेरि चासो जगाउने अपेक्षा गर्न सकिन्छ ।
यस अर्थमा ‘१२ गाउँ’को युट्युब रिलिज केवल पुरानो चलचित्रको डिजिटल प्रदर्शन नभएर आगामी ‘१२ गाउँ २’का लागि दर्शकीय वातावरण बनाउने कदमका रूपमा समेत हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्