काठमाडौं, १८ भदौ । नेपाली लोककला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनलाई आफ्नो कर्मको हिस्सा बनाउँदै आउनुभएका वरिष्ठ नृत्य निर्देशक तथा कोरियोग्राफर केशव कोइरालाले पछिल्लो पटक ग्रीसमा आयोजित अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेलामा नेपाली मौलिक कला प्रस्तुत गर्नुभएको छ । चार दशकभन्दा लामो समयदेखि नृत्य तथा सांस्कृतिक क्षेत्रमा सक्रिय कोइरालाले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकसंस्कृतिको प्रतिनिधित्व गर्नुभएको हो ।
ग्रीसको सलोनिके सहरमा अगस्ट २१ देखि ३१ तारिखसम्म सञ्चालन भएको ‘लोकसांस्कृतिक मेला तथा लोकसांस्कृतिक आदानप्रदान २०२६’ सोमबार सम्पन्न भएको छ । मेलामा ग्रीसका विभिन्न सांस्कृतिक समूहसहित भारत, सर्बिया, मोन्टेनेग्रो र नेपालका कलाकारको सहभागिता थियो । सहभागी देशका कलाकारले आ–आफ्ना मौलिक लोककला, संस्कृति र परम्परा झल्काउने नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए ।
नेपालबाट एभरेस्ट नेपाल कल्चरल ग्रुपको प्रतिनिधित्व गर्दै कोइरालाले मेलामा सहभागिता जनाउनुभएको थियो । उहाँले नेपाली मौलिक लोककला र संस्कृति झल्कने नृत्य प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा प्रस्तुत नृत्यहरूको कोरियोग्राफीसमेत गर्नुभएको थियो । विभिन्न देशका कलाकार सहभागी भएको अन्तर्राष्ट्रिय कार्यक्रममा नेपाली सांस्कृतिक पहिचान प्रस्तुत गर्ने अवसरले नेपाली लोककलालाई बाह्य दर्शकमाझ पु¥याउन थप योगदान पुगेको बताइएको छ ।
सिन्धुपाल्चोकको दुवाचौर–९ मा जन्मिनुभएका कोइराला सन् १९९३ अर्थात् २०५० सालदेखि नृत्य क्षेत्रमा सक्रिय हुनुहुन्छ । प्रारम्भिक समयदेखि नै नृत्यलाई आफ्नो पेशा र सिर्जनाको माध्यम बनाउँदै आउनुभएका उहाँले विभिन्न संस्थामा व्यावसायिक नृत्य प्रशिक्षकका रूपमा काम गरिसक्नुभएको छ । नृत्य निर्देशनसँगै कोरियोग्राफीमा समेत सक्रिय उहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रमका लागि परिचित नामका रूपमा स्थापित हुनुभएको छ ।
कोइरालाको सक्रियता नृत्य सिकाउने वा मञ्चीय प्रस्तुति तयार गर्नेमा मात्र सीमित छैन । उहाँले नेपाली मौलिक नृत्य तथा लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनलाई आफ्नो कामको महत्वपूर्ण उद्देश्य बनाउँदै आउनुभएको छ । देशभित्रका विभिन्न सांस्कृतिक कार्यक्रमदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म नेपाली लोकनृत्य प्रस्तुत गर्दै उहाँले नेपाली संस्कृति र परम्परालाई नयाँ पुस्ता तथा विदेशी दर्शकमाझ चिनाउने प्रयास गर्दै आउनुभएको छ ।
विशेषगरी नेपाली मौलिक नृत्यको विविधता, भेषभूषा, संगीत र सांस्कृतिक परम्परालाई प्रस्तुतिमार्फत अन्तर्राष्ट्रिय दर्शकसम्म पु¥याउने काममा उहाँको सक्रियता देखिन्छ । सांस्कृतिक कार्यक्रममार्फत नेपालको पहिचानलाई विश्वमञ्चमा प्रस्तुत गर्न सकिने भएकाले यस्ता गतिविधिले सांस्कृतिक कूटनीति र पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउन सक्ने सरोकारवालाको धारणा छ ।
ग्रीसमा सम्पन्न लोकसांस्कृतिक मेलामा विभिन्न देशका कलाकारले आफ्ना मौलिक सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नुका साथै एकअर्काको कला र संस्कृतिबारे आदानप्रदान गर्ने अवसर पाएका थिए । आयोजक जुली थियोडोसेलीले यस्ता अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रमले विभिन्न देशबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्न तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याउने बताउनुभएको छ ।
चार दशकभन्दा लामो समयदेखि नेपाली लोककला र संस्कृतिको क्षेत्रमा निरन्तर सक्रिय रहनुभएका कोइरालाका लागि यस्ता अन्तर्राष्ट्रिय सहभागिता नेपाली संस्कृतिलाई बाहिरी संसारसँग जोड्ने माध्यमसमेत बनेका छन् । आफ्ना मौलिक नृत्य र सांस्कृतिक प्रस्तुतिमार्फत नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउने उहाँको निरन्तर प्रयासले नेपाली लोककलाको प्रवद्र्धनमा व्यक्तिगत तहबाट भइरहेको पहललाई समेत उजागर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्