‘परालको आगो’को तेस्रो गीत निम्तो सुपारी सार्वजनिक

 

काठमाडौं, १ वैशाख । आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र परालको आगो को तेस्रो गीत निम्तो सुपारी सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा युवायुवतीबीचको प्रेम, आकर्षण र रमाइलो नोकझोंकलाई जीवन्त ढंगले प्रस्तुत गरिएको छ, जसले दर्शकमाझ उत्साह थपेको छ ।

गीतमा सत्यराज आचार्य र मेलिना राई को स्वर रहेको छ। संगीत पक्षलाई सत्यराज आचार्य र स्वरुपराज आचार्य ले संयोजन गरेका छन् भने गीतका शब्द सुरेन्द्र राना ले लेखेका हुन् । लोक तथा आधुनिक शैलीको संयोजनमा तयार पारिएको गीतले ग्रामीण परिवेशको सांस्कृतिक मिठासलाई उजागर गरेको छ ।

गीतको भिडियो गाउँघरमा परम्परागत शैलीमा हुने विवाहको परिवेशमा तयार पारिएको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा र सिर्जना अधिकारी देखिएका छन् । उनीहरूले प्रस्तुत गरेको नृत्यले गीतलाई अझ आकर्षक बनाएको छ । भिडियोमा दुई जोडीबीचको केमेस्ट्री, रमाइलो संवाद र सांस्कृतिक झल्कोले दर्शकलाई बाँध्ने प्रयास गरिएको छ ।

गीतको कोरियोग्राफी रामजी लामिछाने ले गरेका हुन् । नृत्य संयोजनसँगै दृश्य संरचना र प्रस्तुतीकरणले गीतलाई थप जीवन्त बनाएको छ । छायांकन र सम्पादन पक्ष पनि सशक्त देखिएको छ, जसले गीतको समग्र गुणस्तर उकासेको छ ।

चलचित्र लक्ष्मण सुनार को निर्देशनमा निर्माण भएको हो । फिल्ममा किशोर भण्डारी (डिट्ठासाब), शंकर आचार्य, सरिता भण्डारी, मन्जिला बाँनिया, कुल बहादुर अधिकारी, रेनु न्यौपाने र ज्याक श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील पोखरेल ले लगानी गरेका छन् भने पटकथा तथा संवाद सुशील देवकोटा ले तयार पारेका छन् । प्राविधिक पक्षतर्फ संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठ को सम्पादन र कनाल कँवरको रंग संयोजन रहेको छ । संगीत पक्षमा शान्ती ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपूतको योगदान रहेको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्र नेपाली साहित्यका चर्चित कथाकार गुरुप्रसाद मैनाली को ‘नासो’ कथासङ्ग्रहमा समावेश ‘परालको आगो’ कथाबाट प्रेरित रहेको बताइएको छ । सामाजिक यथार्थ र मानवीय सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले समकालीन कथा र परम्परागत भावनालाई जोड्ने प्रयास गरेको निर्देशकको भनाइ छ ।

सार्वजनिक गीत ‘निम्तो सुपारी’ ले फिल्मप्रति दर्शकको चासो अझ बढाएको निर्माण टिमको विश्वास छ । विशेषगरी विवाह संस्कार, ग्रामीण परिवेश र प्रेमभावलाई समेटिएको प्रस्तुतिले दर्शकलाई आफ्नै परिवेशसँग जोड्ने अपेक्षा गरिएको छ । फिल्म रिलिज मिति नजिकिँदै जाँदा यस्ता गीतहरूको सार्वजनिकले प्रचारप्रसारलाई समेत तीव्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्