लाहुरे परिवारको संघर्ष र प्रेम बोकेको ‘पेन्सन पट्टा’

काठमाडौँ, ११ भदै । नेपाली समाजमा वैदेशिक रोजगारी, परिवारको सम्बन्ध र सरकारी कागजी प्रक्रियाबीच देखिने झमेलालाई कथाको आधार बनाइएको चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक माओत्से गुरुङको निर्देशनमा बनेको चलचित्रको ट्रेलर मंगलबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा आयोजित कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

ट्रेलरले चलचित्रको मूल कथाबारे केही संकेत गरेको छ । लाहुरे परिवारको पृष्ठभूमिमा रहेको कथामा पेन्सन लिन पुगेका एक व्यक्तिले आमाको नाम कागजातमा नमिलेपछि सामना गर्नुपर्ने समस्यालाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ । सामान्य देखिने नामको फरकले सरकारी प्रक्रियामा कसरी जटिलता निम्त्याउँछ र त्यसलाई समाधान गर्न व्यक्तिले कस्तो संघर्ष गर्नुपर्छ भन्ने विषय ट्रेलरमा देखाइएको छ ।

चलचित्रमा अभिनेता दयाहाङ राई लाहुरेको छोराको भूमिकामा देखिएका छन् । पेन्सनसम्बन्धी कागजी प्रक्रियाको समस्यासँग जुध्ने पात्रका रूपमा उनलाई प्रस्तुत गरिएको छ । ट्रेलरले उनको संघर्षसँगै व्यक्तिगत जीवन र पारिवारिक सम्बन्धलाई पनि कथासँग जोडेको संकेत गरेको छ । दयाहाङ र गौमाया गुरुङबीचको प्रेमसम्बन्धलाई समेत ट्रेलरमा स्थान दिइएको छ ।

निर्माण पक्षका अनुसार ‘पेन्सन पट्टा’ केवल पेन्सन पाउने प्रक्रियामा केन्द्रित चलचित्र होइन । गुरुङ समुदायको सामाजिक परिवेश, पारिवारिक सम्बन्ध, प्रेम र जीवनका विभिन्न पक्षलाई कथामा समेटिएको छ । लाहुरे परम्परा र त्यससँग जोडिएको सामाजिक तथा पारिवारिक जीवनलाई चलचित्रले पर्दामा प्रस्तुत गर्ने प्रयास गरेको छ ।

चलचित्र आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेख्नु भएको हो । यसअघि ‘दयारानी’ निर्देशन गर्नुभएको गुरुङका लागि ‘पेन्सन पट्टा’ दोस्रो निर्देशकीय चलचित्र हो । ‘दयारानी’मार्फत निर्देशनमा प्रवेश गर्नुभएको गुरुङले यसपटक फरक सामाजिक विषयलाई कथाको केन्द्रमा राखेको बताउनु भयो ।

चलचित्रमा दयाहाङ राई र गौमाया गुरुङसँगै बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, पशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई र लुनिभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ । कलाकारको विविध उपस्थितिले चलचित्रको कथा विभिन्न पात्र र सम्बन्धमार्फत अघि बढ्ने देखिन्छ ।

मिन कोन्मे गुरुङ (युके), भोजबहादुर गुरुङ (युके), माया गुरुङ (हङकङ) र सपना गुरुङ निर्माता रहेको चलचित्रमा डीबी गुरुङ प्रोडक्सन म्यानेजर हुनुहुन्छ । चलचित्रमा गीतसंगीतलाई पनि कथाको महत्वपूर्ण पक्षका रूपमा समेटिएको छ । हर्क साउद, शिव बराइली र सूरज तमुको शब्द रहेको गीतमा मनोज थापा मगर, शिव बराइली र सूरज तमुले संगीत दिनुभएको छ ।

सुशन प्रजापतिले छायांकन गर्नुभएको चलचित्रको सम्पादन नेमिश श्रेष्ठ र केर डी. कोइच लिनुचले गर्नुभएको छ । नेपालमा चलचित्रको वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ ।

ट्रेलर सार्वजनिक भएसँगै चलचित्रले उठाएको विषयले दर्शकको ध्यान तानेको छ । विशेषगरी कागजातमा हुने सामान्य त्रुटिले नागरिकले सरकारी सेवा प्राप्त गर्दा भोग्नुपर्ने झन्झट र त्यसले पारिवारिक तथा व्यक्तिगत जीवनमा पार्ने प्रभावलाई मनोरञ्जनसँग जोडेर प्रस्तुत गरिएकाले ‘पेन्सन पट्टा’को कथा अन्य चलचित्रभन्दा फरक देखिएको छ । अब भदौ २६ गते प्रदर्शनपछि चलचित्रले उठाएको सामाजिक विषयलाई दर्शकले कस्तो रूपमा ग्रहण गर्छन् भन्ने चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्