फिल्म ‘ऊनको स्वीटर’को सिक्वेल निर्माण गर्ने घोषणा

काठमाडौँ, १ भदौ । २०८२ सालमा प्रदर्शनमा आएर दर्शकको उल्लेख्य साथ पाएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को सिक्वेल निर्माण हुने भएको छ । शनिबार काठमाडौँमा आयोजित तेस्रो ‘इन्फा इन्टरनेशनल नेपाली फिल्म अवार्ड’ समारोहमा चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो। सिक्वेलको नाम ‘कलेजी ऊनको स्वीटर’ राखिएको छ ।

निर्माण पक्षका अनुसार चलचित्रलाई सन् २०२७ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । चलचित्रको छायाङ्कन दशैँपछि सुरु गर्ने तयारी भइरहेको छ । पहिलो चलचित्रकै निर्देशक नवीन चौहानले सिक्वेलको लेखन तथा निर्देशन गर्नुहुनेछ । ‘ऊनको स्वीटर’बाट दर्शकमाझ लोकप्रिय बनेको धरणीधर र फूलको जोडी अर्थात् विपिन कार्की र मिरुना मगर सिक्वेलमा पनि दोहोरिने भएका छन् ।

पहिलो चलचित्रमा दर्शकले अधुरो महसुस गरेको प्रेमकथालाई सिक्वेलमार्फत थप विस्तार गरिने निर्देशक चौहानले बताउनुभयो । उहाँका अनुसार ‘ऊनको स्वीटर’ प्रदर्शनपछि धेरै दर्शकले धरणीधर र फूलको कथा पूर्ण रूपमा हेर्न चाहेको प्रतिक्रिया दिएका थिए । दर्शकको निरन्तर आग्रहपछि सिक्वेल निर्माणको निर्णयमा पुगेको उहाँको भनाइ छ ।

“यो पटक हामीले ‘ऊनको स्वीटर’को यात्रालाई अझ फराकिलो ढङ्गले उजागर गर्ने कोसिस गरेका छौँ। धेरै दर्शकले फिल्म आधा–अधुरो भयो, पूरा कथा हेर्न चाहन्छौँ भनेर आग्रह गर्नुभएको थियो,” निर्देशक चौहानले भन्नुभयो, “अब भने ‘ऊनको स्वीटर’को नयाँ यात्रा सुरु गर्दैछौँ।”

सिक्वेलमा विपिन कार्की र मिरुना मगरसँगै एलेक्स पारस र परीक्षा लिम्बूको पनि मुख्य भूमिका रहनेछ । चलचित्रमा भारतका चर्चित लेखक तथा अभिनेता पियूष मिश्राको समेत अभिनय रहने निर्माण पक्षले जनाएको छ । पियूष मिश्राको सहभागिताले चलचित्रको कथा तथा प्रस्तुतिलाई नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धसँग जोड्ने अवसरसमेत सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

‘सीमानाभन्दा माथि हुन्छ कला’ भन्ने मूल मर्मलाई अगाडि सारेर चलचित्र निर्माण गर्न लागिएको निर्देशक चौहानले जानकारी दिनुभयो । उहाँका अनुसार धरणीधर र फूलको अधुरो प्रेमकथाको नयाँ यात्रा सिक्किमबाट सुरु हुनेछ । पहिलो चलचित्रको कथाभन्दा भौगोलिक तथा भावनात्मक दायरा फराकिलो बनाउँदै नयाँ परिवेशमा कथा अगाडि बढाउने तयारी गरिएको छ ।

चलचित्रमा चिन्तनराज भण्डारीको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन तथा सुजन चापागाईंको सङ्गीत रहनेछ । हर्क साउद र युवराज काफ्लेको शब्द रहने गीतले चलचित्रको कथालाई थप भावनात्मक बनाउन सहयोग गर्ने निर्माण पक्षको विश्वास छ ।

अन्तरजातीय प्रेमकथामा आधारित ‘ऊनको स्वीटर’ले नेपाली दर्शकमाझ बलियो प्रभाव पारेको थियो । चलचित्रले घरेलु बक्स अफिसमा करिब १२ करोड रुपियाँको कारोबार गरेको निर्माण पक्षको दाबी छ । २०८२ सालको पहिलो सुपरहिट चलचित्रका रूपमा चर्चा पाएको ‘ऊनको स्वीटर’ले नेपालबाहेक भारतमा समेत उल्लेख्य व्यापार गरेको थियो ।

भारतका हलमा चलचित्रले करिब डेढ करोड भारतीय रुपियाँ अर्थात् झन्डै दुई करोड ४० लाख नेपाली रुपियाँको कारोबार गर्दै ५१ दिनसम्म प्रदर्शन भएको जनाइएको छ । नेपाली चलचित्रले भारतीय बजारमा लामो समयसम्म प्रदर्शन पाउनु र उल्लेख्य कारोबार गर्नु ‘ऊनको स्वीटर’को सफलताको अर्को महत्वपूर्ण पक्षका रूपमा हेरिएको थियो ।

चलचित्रमा समावेश ‘फूल’, ‘मखमली’, ‘काफ्ले’ र ‘चाइनेजो जिन्दगानी’लगायत गीत दर्शकमाझ लोकप्रिय भएका थिए । विशेषगरी सुजन चापागाईंको सङ्गीत तथा स्वरमा रहेका गीतले चलचित्रको कथासँगै छुट्टै चर्चा पाएका थिए । गीतसङ्गीतको लोकप्रियताले पनि चलचित्रप्रतिको दर्शक आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

‘कलेजी ऊनको स्वीटर’को निर्माण घोषणासँगै अब दर्शकको मुख्य चासो धरणीधर र फूलको अधुरो प्रेमकथा कसरी अगाडि बढ्छ भन्नेमा रहनेछ । नयाँ कलाकार, नयाँ परिवेश र पियूष मिश्राको सहभागितासँगै सिक्वेलले पहिलो चलचित्रले निर्माण गरेको अपेक्षालाई कति पूरा गर्छ भन्ने विषय भने प्रदर्शनपछि नै स्पष्ट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्