काठमाडौं, ८ साउन । एक वर्षको अवरोधपछि चितवन गोल्डकप फुटबल प्रतियोगिता पुनः आयोजना हुने भएको छ । हानामी भरतपुर फुटबल क्लब (बीएफसी) ले मंगलबार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको चितवन गोल्डकप फुटबल प्रतियोगिता भदौ २७ देखि असोज ३ गतेसम्म सञ्चालन हुने घोषणा गरेको हो । गत वर्ष जेनजी आन्दोलनका कारण स्थगित भएको प्रतियोगिता यसपटक नयाँ तयारी, नयाँ लोगो र नयाँ मस्कोटसहित पुनः फर्किन लागेको हो ।
आयोजकका अनुसार प्रतियोगिता नेपाल प्रहरी शिक्षालय भरतपुर तालिम केन्द्रको मैदानमा सञ्चालन हुनेछ । यस संस्करणमा आठ टोलीको सहभागिता रहने निश्चित भए पनि सहभागी क्लबहरूको अन्तिम सूची भने केही दिनभित्र सार्वजनिक गरिने प्रतियोगिता संयोजक ध्रुव भुसालले जानकारी दिनुभयो । अघिल्ला दुई संस्करणमा १० टोली सहभागी भएका थिए भने यसपटक प्रतियोगितालाई थप व्यवस्थित बनाउन टोली संख्या घटाइएको आयोजकको भनाइ छ ।
प्रतियोगिताको विजेताले नगद छ लाख रुपैयाँ, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र हात पार्नेछ । व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक तथा उदयीमान खेलाडीलगायत विधागत उत्कृष्टलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई पाँच हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ ।
क्लबका अध्यक्ष लालसिंह गुरुङले प्रतियोगिताको सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार मैदान व्यवस्थापन, प्रायोजन, टिकट व्यवस्थापन, सुरक्षा तथा प्रतियोगिताको प्राविधिक पक्षलाई अन्तिम रूप दिने काम भइरहेको छ । स्थानीय खेलप्रेमीको उत्साहलाई मध्यनजर गर्दै यसपटक प्रतियोगितालाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य राखिएको उहाँले बताउनु भयो ।
तेस्रो संस्करण गत वर्ष नै आयोजना गर्ने तयारी भए पनि जेनजी आन्दोलनका कारण कार्यक्रम स्थगित भएको थियो । त्यसपछि प्रतियोगिता आयोजना अन्योलमा परेको भए पनि यस वर्ष सबै तयारी पूरा गरी प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ । प्रतियोगिताको पुनरागमनसँगै चितवनमा फुटबल गतिविधिले पुनः गति लिने अपेक्षा गरिएको छ ।
पत्रकार सम्मेलनकै अवसरमा आयोजकले चितवन गोल्डकपको नयाँ लोगो र आधिकारिक मस्कोट पनि सार्वजनिक गरेको छ । चितवनको पहिचानका रूपमा रहेको एकसिंगे गैँडालाई प्रतियोगिताको मस्कोट बनाइएको छ । स्थानीय पहिचान, पर्यटन प्रवद्र्धन र खेलकुदलाई एकसाथ जोड्ने उद्देश्यले गैँडाको आकृति समेटिएको नयाँ लोगो तयार गरिएको आयोजकले जनाएको छ ।
यसले प्रतियोगितालाई विशिष्ट पहिचान दिनुका साथै राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।चितवन गोल्डकपले छोटो समयमै नेपालको प्रतिष्ठित मोफसल फुटबल प्रतियोगितामध्ये आफ्नो स्थान बनाउन सफल भएको छ । पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो भने दोस्रो संस्करणमा बुटवल लुम्बिनी एफसी च्याम्पियन बनेको थियो ।
यसपटक पनि ‘ए’ डिभिजन क्लब तथा बलिया मोफसल टोलीहरूको सहभागिता गराउने तयारी भइरहेको आयोजकले जनाएको छ ।नेपालमा पछिल्ला वर्षहरूमा मोफसल फुटबल प्रतियोगिताले खेलाडी उत्पादन, स्थानीय प्रतिभाको पहिचान र फुटबल संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
चितवन गोल्डकप पनि त्यही उद्देश्यलाई अघि बढाउने प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको छ । आयोजकका अनुसार यस संस्करणले स्थानीय अर्थतन्त्र, पर्यटन तथा खेलकुद गतिविधिलाई समेत सकारात्मक ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताले चितवनलाई पुनः एकपटक राष्ट्रिय फुटबलको केन्द्र बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्