अरुण कपको विरासतबाट ‘सङ्खुवासभा गोल्ड कप’, कात्तिक १४ देखि हुने

काठमाडाँै, ११ भदौ । जिल्लामा लामो समयदेखि सञ्चालन हुँदै आएको स्थानीय फुटबल प्रतियोगितालाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक र व्यावसायिक स्वरूप दिँदै यस वर्ष ‘सङ्खुवासभा गोल्ड कप’ आयोजना हुने भएको छ । खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङस्थित एड्भान्स क्लबको आयोजनामा आगामी कात्तिक १४ देखि २० गतेसम्म गोल्ड कप सञ्चालन गर्न लागिएको हो ।

प्रतियोगिताबारे आयोजकले सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । ‘सामाजिक सद्भावका लागि युवा एकता, विकृति, विसङ्गतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता’ भन्ने नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ । प्रतियोगिताका सबै खेल मानेभञ्ज्याङस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछन् ।

स्थानीय स्तरमा खेलकुद गतिविधिलाई निरन्तरता दिँदै आएको एड्भान्स क्लबले यसअघि जिल्ला स्तरीय ‘अरुण कप’ सञ्चालन गर्दै आएको थियो । क्लबले २०६४ सालदेखि उक्त प्रतियोगितालाई परिमार्जन गर्दै ‘अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिता’का रूपमा निरन्तरता दिँदै आएको थियो । यसपटक भने प्रतियोगितालाई अझ फराकिलो बनाउँदै नयाँ नाम र स्वरूपमा आयोजना गर्न लागिएको हो ।

क्लबका अध्यक्ष प्रकाश घिमिरेका अनुसार स्थानीय खेलाडी र क्लबलाई राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिताको स्वरूप परिवर्तन गरिएको हो । विगतको स्थानीय प्रतियोगितालाई थप व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउँदै ‘सङ्खुवासभा गोल्ड कप’ नामकरण गरिएको उनले बताउनुभयो ।

प्रतियोगितामा जिल्लाका चार ‘ए’ डिभिजन क्लबका साथै राष्ट्रिय ‘ए’ डिभिजन र कोशी प्रदेशका विभिन्न जिल्लाका ‘ए’ डिभिजन क्लब गरी आठ टोलीको सहभागिता रहनेछ । राष्ट्रिय तथा प्रदेशस्तरका टोलीको सहभागिताले जिल्लामा हुने प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तर बढ्ने आयोजकको अपेक्षा छ । स्थानीय दर्शकले पनि आफ्नै जिल्लामा स्तरीय क्लबका खेलाडीको प्रदर्शन प्रत्यक्ष हेर्न पाउनेछन् ।

प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टोलीले तीन लाख रुपैयाँ पाउनेछ । आयोजकले व्यक्तिगत विधातर्फ पनि खेलाडीलाई प्रोत्साहन गर्ने गरी पुरस्कारको व्यवस्था गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही सात हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत पुरस्कारले खेलाडीलाई आफ्नो प्रदर्शनमा थप मेहनत गर्न प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितालाई केवल फुटबल प्रतियोगिताका रूपमा मात्र नभई युवालाई खेलकुदतर्फ आकर्षित गर्ने माध्यमका रूपमा समेत अघि बढाउने आयोजकको योजना छ । पछिल्लो समय युवामाझ बढ्दै गएको विभिन्न विकृति तथा विसङ्गतिबाट टाढा राख्न खेलकुद प्रभावकारी माध्यम बन्न सक्ने भन्दै प्रतियोगिताको नारामार्फत सामाजिक सन्देशसमेत दिन खोजिएको छ ।

स्थानीय स्तरमा खेलकुदको पूर्वाधार र अवसर सीमित रहेका अवस्थामा यस्ता प्रतियोगिताले खेलाडीको क्षमता पहिचान र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी जिल्लाबाट राष्ट्रिय स्तरमा पुग्ने सम्भावना भएका खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउनु प्रतियोगिताको अर्को उद्देश्य रहेको आयोजकले जनाएको छ ।

कात्तिकमा आयोजना हुने प्रतियोगिताका लागि तयारी अघि बढाइसकेको क्लबले जनाएको छ । जिल्लामा लामो समयदेखि सञ्चालन हुँदै आएको अरुण कपको अनुभव र त्यसबाट प्राप्त सिकाइलाई आधार बनाउँदै यसपटक प्रतियोगितालाई थप व्यवस्थित बनाउने तयारी गरिएको छ । आठ टोलीको सहभागिताले प्रतिस्पर्धा रोमाञ्चक बन्ने अपेक्षासँगै ‘सङ्खुवासभा गोल्ड कप’ जिल्लाको खेलकुद गतिविधिमा नयाँ पहिचान स्थापित गर्ने आयोजकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्