काठमाडौं, ५ साउन । नेपाली डिजिटल मनोरञ्जनमा नयाँ स्वाद थप्ने उद्देश्यसहित निर्माण गरिएको पारिवारिक हाँस्य टेलिशृङ्खला ‘लुरे बुढा, भुँडे बुढी’ आज (साउन ४ गते)देखि औपचारिक रूपमा प्रसारणमा आएको छ । नागरिक प्रेसको आधिकारिक युट्युब च्यानलमार्फत हरेक सोमबार बेलुका ५ बजे साप्ताहिक रूपमा प्रसारण हुने यस कार्यक्रमले हास्य, व्यंग्य र प्रेरणादायी जीवनकथालाई एउटै मञ्चमा प्रस्तुत गर्ने लक्ष्य लिएको निर्माण टिमले जनाएको छ ।
कार्यक्रमको पहिलो भाग सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ । नेपाली गाउँघरको परिवेश, स्थानीय बोलीभाषा, ठट्यौली शैली र पारिवारिक हास्यलाई आधुनिक प्रस्तुतीकरणसँग जोडेर तयार गरिएको यो शृङ्खलाले फरक स्वाद दिने अपेक्षा गरिएको छ ।
शृङ्खलाको मुख्य भूमिकामा चर्चित हास्य कलाकार सुलेमान शङ्कर ‘इकु’ र अभिनेत्री स्नेहा कटवाल देखिएका छन् । दुवै कलाकारले ‘लुरे बुढा’ र ‘भुँडे बुढी’को चरित्रमार्फत दर्शकलाई हँसाउनुका साथै समाजका विभिन्न पक्षमाथि व्यंग्य प्रस्तुत गर्नेछन् ।
कलाकार सुलेमान शङ्कर ‘इकु’का अनुसार यो कार्यक्रम परम्परागत कमेडी शृङ्खलाभन्दा केही फरक ढाँचामा तयार गरिएको छ । उहाँले कार्यक्रममा नेपाली समाजका विभिन्न क्षेत्रका स्थापित व्यक्तित्वहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिने जानकारी दिनुभयो । बाल्यकाल, संघर्ष, सफलता र जीवनका रोचक अनुभवलाई गाउँघरको शैलीमा हास्यरस मिसाएर प्रस्तुत गरिने जनाएका छन ।
“हामी केवल हँसाउने मात्र होइन, प्रेरणा दिने सामग्री पनि प्रस्तुत गर्न चाहन्छौँ। दर्शकले मनोरञ्जनसँगै सफल व्यक्तिहरूको जीवनयात्रा पनि सहज रूपमा बुझ्न सकून् भन्ने हाम्रो उद्देश्य हो,” इकुले बताउनु भयो ।
सार्वजनिक प्रोमोले पनि दर्शकमाझ उत्सुकता जगाएको थियो ।
प्रोमोमा ‘लुरे बुढा’ आफ्नो जीवनकथा सुनाउन खोजिरहेका बेला ‘भुँडे बुढी’ले ‘मेरो कथा पनि कम छैन’ भन्दै रमाइला संवादमार्फत ठट्यौली वातावरण सिर्जना गरेको दृश्य देखाइएको थियो । यही शैलीलाई निरन्तरता दिँदै प्रत्येक भागमा नयाँ अतिथि, नयाँ कथा र नयाँ हास्य प्रसंग समेटिने निर्माण पक्षले जनाएको छ ।
सुलेमान शङ्कर ‘इकु’ नेपाली हास्य क्षेत्रमा स्थापित नाम हो । उहाँले दर्जनौँ टेलिशृङ्खला, चलचित्र तथा स्टेज कार्यक्रममार्फत दर्शकको मन जित्न सफल भइसकेको कालाकार हुन । अभिनयसँगै उहाँले चलचित्र निर्माण, निर्देशन तथा सामाजिक गतिविधिमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ । पछिल्लो समय डिजिटल प्लेटफर्ममा पनि उहाँ निरन्तर सक्रिय हुनुहुन्छ ।
त्यसैगरी, स्नेहा कटवालले गायिकाका रूपमा आफ्नो कलायात्रा सुरु गरे पनि पछिल्ला वर्षहरूमा अभिनयमार्फत छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । उहाँले ‘सिता’, ‘छुच्ची सासु’, ‘गीता’, ‘सम्झौता’ लगायतका लोकप्रिय टेलिशृङ्खलामा अभिनय गरिसक्नु भएको छ । ‘लुरे बुढा, भुँडे बुढी’मा उहाँको हास्य अभिनय पनि दर्शकका लागि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पछिल्लो समय नेपाली मनोरञ्जन उद्योगमा युट्युब केन्द्रित मौलिक सामग्री निर्माणको क्रम बढिरहेको छ । यस्ता डिजिटल कार्यक्रमले टेलिभिजनको सीमितताभन्दा बाहिर पुगेर विश्वभर रहेका नेपाली दर्शकमाझ सहज पहुँच बनाएका छन् । यही परिवेशलाई ध्यानमा राख्दै ‘लुरे बुढा, भुँडे बुढी’लाई पनि मनोरञ्जनसँगै सामाजिक सन्देश र प्रेरणादायी कथाहरू समेट्ने कार्यक्रमका रूपमा विकास गरिएको निर्माण टिमको भनाइ छ ।
निर्माण पक्षका अनुसार आगामी एपिसोडहरूमा कला, साहित्य, खेलकुद, राजनीति, संगीत, सामाजिक अभियान तथा विभिन्न पेशामा स्थापित व्यक्तित्वहरू अतिथिका रूपमा सहभागी हुनेछन् । उनीहरूको जीवनका संघर्ष, सफलता र प्रेरणादायी अनुभवलाई हास्य शैलीमा प्रस्तुत गरिने भएकाले कार्यक्रमले सबै उमेर समूहका दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्