काठमाडौं, १ साउन । निर्माता जनक घर्ती मगरले नयाँ नेपाली फिल्म ‘आकाश वर्षा’ निर्माण गर्ने घोषणा गरेका छन् । बुधबार फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै आफ्नो तेस्रो निर्माण परियोजनाको औपचारिक घोषणा गर्नुभएको छ । सफल फिल्म ‘घरज्वाइँ’पछि निर्माणमा निरन्तर सक्रिय रहेका मगरले यसपटक विशुद्ध प्रेमकथामा आधारित चलचित्र दर्शकमाझ ल्याउने तयारीमा रहेको छ ।
जनक घर्ती मगरले निर्माण गरेको पहिलो फिल्म ‘घरज्वाइँ’ व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल भएको थियो । ग्रामीण परिवेश, मौलिक कथा र सामाजिक विषयवस्तुले फिल्मलाई दर्शकले रुचाएका थिए । त्यसपछि उहाँले निर्माण गरेको दोस्रो फिल्म ‘मितज्यू’ भने अपेक्षाअनुसार बक्स अफिसमा सफल हुन सकेन । यद्यपि, नयाँ विषयवस्तु र फरक शैलीका फिल्म निर्माण गर्ने आफ्नो प्रयासलाई निरन्तरता दिँदै उहाँले ‘आकाश वर्षा’ लिएर पुनः दर्शकमाझ आउन लागेका बताउनु भयो ।
फिल्मको निर्देशन सुदीप भजुले सम्हाल्ने छन् । उहाँ नेपाली फिल्म क्षेत्रमा पहिलोपटक फिचर फिल्म निर्देशन गर्न लाग्नु भएको हो । यसअघि उहाँले वैकल्पिक राजनीतिक अभियानका अभियन्ता स्वर्गीय उज्वल थापाको जीवनमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ निर्देशन गरेर चर्चा बटुलिसक्नु भएको छ । साथै, उहाँले ‘अ ग्लास अफ हेप्पिनेस’ नामक सिरिजमार्फत पनि आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गरिसक्नु भएको छ । अब ‘आकाश वर्षा’ उहाँको पहिलो निर्देशकीय फिचर फिल्म बन्ने भएको छ ।
निर्माण कम्पनी जीएम मुभिज प्रोडक्सनको प्रस्तुति रहने फिल्मको सार्वजनिक गरिएको थिम पोस्टरले नै दर्शकमाझ उत्सुकता जगाएको छ । पोस्टरमा बादलबाट हल्का वर्षा भइरहेको दृश्य, पृष्ठभूमिमा देखिएको पहाडी भू–दृश्य र प्रकृतिसँग मिसिएको भावनात्मक वातावरणले फिल्मको कथा प्रेम, संवेदना, संघर्ष र जीवनका उतारचढावसँग जोडिएको संकेत गर्छ । पोस्टरको दृश्यात्मक प्रस्तुति सरल भए पनि त्यसले फिल्मको भावनात्मक पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको देखिन्छ ।
निर्माता जनक घर्ती मगरका अनुसार ‘आकाश वर्षा’ विशुद्ध प्रेमकथामा आधारित चलचित्र हुनेछ। प्रेमका विभिन्न आयाम, सम्बन्धमा आउने उतारचढाव, जीवनका संघर्ष र आशाका पक्षलाई समेटेर कथा तयार पारिएको उहाँले बताउनु भयो । उहाँका अनुसार दर्शकले केवल मनोरञ्जन मात्र नभई भावनात्मक रूपमा पनि आफूलाई कथासँग जोड्न सक्नेछन् ।
फिल्मको परिकल्पना स्वयं जनक घर्ती मगरको रहेको छ भने अमीर मगरको कथा तथा पटकथा रहेको छ । निर्माण टिमले कथामा मौलिकता, नेपाली परिवेश र समकालीन जीवनका यथार्थलाई प्राथमिकता दिइएको जनाएको छ । कलाकार, छायांकन सुरु हुने मिति तथा प्रदर्शन समय भने निर्माण पक्षले केही समयपछि सार्वजनिक गर्ने तयारी गरेको छ ।
पछिल्ला वर्षहरूमा नेपाली फिल्म उद्योगमा मौलिक कथा, स्थानीय परिवेश र भावनात्मक कथावस्तुमा आधारित फिल्म निर्माण गर्ने क्रम बढिरहेको छ । ‘घरज्वाइँ’को सफलतापछि जनक घर्ती मगरले पनि यस्तै धारलाई निरन्तरता दिँदै नयाँ फिल्म अघि फिल्म सारेको हो । यसपटक उहाँले अनुभवीभन्दा फरक पृष्ठभूमिका निर्देशक सुदीप भजुलाई अवसर दिनुभएको छ । यसलाई पनि सकारात्मक पक्षको रुपमा लिनसकिन्छ ।
फिल्मको थिम पोस्टर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि सकारात्मक प्रतिक्रिया आउन थालेका छन् । चलचित्रकर्मीहरूका अनुसार पोस्टरले कथाको भाव र शैलीबारे उत्सुकता जगाउन सफल भएको छ । निर्माण टिमले केही साताभित्र कलाकार चयन, छायांकन तालिका तथा अन्य प्राविधिक टोलीबारे विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
निर्माता मगरको विश्वास छ कि ‘आकाश वर्षा’ले नेपाली प्रेमकथामा नयाँ स्वाद थप्नेछ । मौलिक कथा, नयाँ निर्देशकको दृष्टिकोण र संवेदनशील प्रस्तुतिका कारण यो फिल्म आगामी वर्षको प्रतीक्षित नेपाली चलचित्रमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्