काठमाडौं, २५ जेठ । नबिल बैंकले नेपाल र भारतबीच सहज, सुरक्षित तथा छिटो रकम स्थानान्तरण गर्न सकिने क्रस–बोर्डर पर्सन–टु–पर्सन (पी–टु–पी) रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत दुवै देशका ग्राहकहरूले डिजिटल माध्यमबाट तत्काल रकम पठाउन र प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार नबिल बैंकमा खाता भएका भारतीय नागरिकहरूले अब मोबाइल बैंकिङ एप ‘एनबैंक’ प्रयोग गरेर भारतमा रहेका आफ्ना परिवारजन तथा साथीभाइलाई सजिलै रकम पठाउन सक्नेछन् । त्यसैगरी, भारत र नेपालका नागरिकहरूले नेपालमा रहेका नबिल बैंकका ग्राहकलाई पनि छिटो तथा सुरक्षित रूपमा रकम पठाउन सक्ने व्यवस्था गरिएको छ ।
सीमापार डिजिटल भुक्तानीलाई सरल र प्रभावकारी बनाउने उद्देश्यसहित सुरु गरिएको यो सेवाले नेपाल–भारतबीचको आर्थिक कारोबारलाई थप सहज बनाउने विश्वास बैंकको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यो सेवा डिजिटल बैंकिङ विस्तार तथा ग्राहक सुविधालाई थप मजबुत बनाउने महत्वपूर्ण कदम भएको बताउनुभएको छ । उहाँका अनुसार सेवाले दुवै देशका नागरिकलाई आधुनिक र सुरक्षित बैंकिङ अनुभव प्रदान गर्नेछ ।
बैंकले नियामकीय व्यवस्था अनुरूप रकम पठाउने सीमा पनि निर्धारण गरेको छ । नेपालबाट भारततर्फ दैनिक अधिकतम १५ हजार भारतीय रुपैयाँ र मासिक एक लाख भारतीय रुपैयाँसम्म पठाउन सकिनेछ । यस्तै, भारतबाट नेपालतर्फ दैनिक अधिकतम दुई लाख भारतीय रुपैयाँसम्म पठाउन सकिने व्यवस्था गरिएको छ भने मासिक सीमा तोकिएको छैन ।
यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) बीचको सहकार्यमा सञ्चालन गरिएको हो । यसले दुई देशबीचको डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, विश्वसनीय र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
हाल नबिल बैंकले देशभर २६६ शाखा र ३१८ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको बैंकले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ विस्तारलाई प्राथमिकतामा राख्दै विभिन्न प्रविधिमैत्री सेवा सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्