काठमाडौँ, १४ जेठ । नेपाली चलचित्र उद्योगमा लामो समयदेखि कायम रहँदै आएको ‘पुरुष केन्द्रित’ कथावाचनको परम्परा क्रमशः बदलिन थालेको संकेत पछिल्ला चलचित्रहरूले दिएका छन् । विगतमा चलचित्रको व्यापारिक सफलता ‘हिरो’ अर्थात् पुरुष पात्रमा निर्भर रहने मान्यता बलियो रहे पनि अहिले दर्शकको रोजाइ र कथावस्तुको प्राथमिकता फेरिँदै जाँदा अभिनेत्रीहरू पनि कथा बोक्ने केन्द्रीय शक्तिका रूपमा उभिन थालेका छन् ।
परम्परागत रूपमा नेपाली सिनेमामा अभिनेत्रीलाई प्रायः प्रेम, त्याग वा भावनात्मक सहायक पात्रको भूमिकामा सीमित गरिँदै आएको थियो । तर पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रहरूले यो धारणा तोड्ने प्रयास गरेका छन् । ‘लालीबजार’, ‘एक मुठ्ठी बादल’, ‘लाइफ ड्यामेज’ र ‘गुरू आमा’ जस्ता चलचित्रमा महिला पात्रहरू कथा सजाउने माध्यम मात्र नभई कथा अघि बढाउने मुख्य आधारका रूपमा प्रस्तुत भएका छन् । यसले उद्योगभित्रको सृजनात्मक सोच र बजारको मनोविज्ञान दुवैमा परिवर्तनको संकेत गरेको छ ।
यीमध्ये ‘लालीबजार’ विशेष रूपमा चर्चामा छ। गत वैशाख २५ देखि प्रदर्शनमा आएको यस चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काले वादी समुदायकी महिलाको संघर्षपूर्ण जीवनलाई केन्द्रमा राखेर अभिनय गर्नुभएको छ । छोरीको भविष्य सुरक्षित गर्न सामाजिक विभेदसँग जुध्ने आमाको कथामार्फत चलचित्रले संवेदनशील सामाजिक मुद्दा उठाएको छ । यस प्रकारका कथाले महिला पात्रलाई केवल भावनात्मक प्रतीक नभई संघर्षशील र निर्णायक भूमिकामा प्रस्तुत गरेको देखिन्छ ।
अभिनेत्री स्वस्तिमा खड्काले महिला पात्र केन्द्रमा हुनु आफैँमा महत्वपूर्ण परिवर्तन भएको बताउनुभएको छ । उहाँका अनुसार नेपाली चलचित्रमा अझै पनि धेरै कथाहरू पुरुष पात्रलाई केन्द्रमा राखेर लेखिने प्रवृत्ति छ, तर दर्शकले अहिले फरक दृष्टिकोण र कथालाई स्वीकार्न थालेका छन् । बलियो कथावस्तु भए पात्रको लिङ्गभन्दा कथाको प्रभाव बढी महत्वपूर्ण हुने उहाँको भनाइ छ ।
त्यसैगरी, ‘एक मुठ्ठी बादल’ चलचित्रले महिलाको व्यक्तिगत स्वतन्त्रताको विषय उठाएको छ । गत जेठ १ देखि प्रदर्शनमा आएको यस चलचित्रमा अभिनेत्री आँचल शर्माले ‘माइली’ छोरीको भूमिकामार्फत विवाहजस्तो महत्वपूर्ण निर्णयमा महिलाको स्वतन्त्रता र मनोविज्ञानलाई उजागर गर्नुभएको छ ।
चलचित्रको विशेषता भनेको यसमा निर्देशकदेखि प्राविधिक टोलीसम्म महिलाको उल्लेख्य सहभागिता रहनु पनि हो, जसले कथाको प्रस्तुतीकरणलाई थप सशक्त बनाएको छ ।
अभिनेत्री आँचल शर्माले चलचित्रले महिलाको आत्मविश्वास र निर्णय क्षमतालाई प्रस्तुत गर्न खोजेको उल्लेख गर्दै महिलाले आफ्नो जीवनका निर्णय स्वतन्त्र रूपमा लिन पाउनुपर्ने सन्देश दिएको बताउनुभयो । यसले नेपाली समाजमा गहिरो रूपमा जरा गाडेको लैङ्गिक सोचमाथि प्रश्न उठाउने प्रयास गरेको देखिन्छ ।
नेपाली सिनेमामा महिला पात्रको सशक्त उपस्थिति नयाँ भने होइन । एक समय अभिनेत्री रेखा थापाले ‘एक्शन हिरो’को रूपमा महिला पात्रलाई स्थापित गर्नुभएको थियो । तर त्यसपछि चलचित्र बजार पुनः पुरुष केन्द्रित कथातर्फ फर्किएको थियो । अहिले भने पुनः त्यही धार परिवर्तनतर्फ उन्मुख भएको संकेत देखिनु सकारात्मक मान्न सकिन्छ ।
पछिल्ला चलचित्रहरूले दर्शकको रुचिमा आएको परिवर्तन पनि स्पष्ट पारेका छन् । अब दर्शक केवल स्टारडम वा परम्परागत ‘हिरो’ हेर्न हल पुग्नेभन्दा पनि सशक्त कथा र नयाँ दृष्टिकोण खोज्न थालेका छन् । यसले फिल्म निर्माणकर्तालाई पनि विषयवस्तु र पात्र चयनमा पुनर्विचार गर्न प्रेरित गरिरहेको छ ।
नेपाली चलचित्र उद्योगमा अभिनेत्रीहरू कथा बोक्ने केन्द्रमा आउनु केवल प्रतिनिधित्वको सवाल मात्र नभई सृजनात्मक स्वतन्त्रता र बजारको परिपक्वताको संकेत हो । यदि यो प्रवृत्ति निरन्तर रह्यो भने नेपाली सिनेमा अझ विविध, सन्तुलित र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बन्न सक्ने अपेक्षा गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्