फिल्म ‘जारी २’ उच्च हाइप निर्माण गर्न सफल

 

काठमाडौं, १४ कात्तिक । फिल्म ‘जारी २’को ट्रेलरले दर्शकमाझ उच्च हाइप निर्माण गर्न सफल भएको छ । फिल्मको ट्रेलरले युट्युवमा सार्वजनिक भएको २ दिनमा १० लाख बढि भ्युज पाएको हो । यो ट्रेलरले राम्रो भ्युजसँगै प्रतिक्रिया पनि निकै राम्रो पाइरहेको छ ।

बिहीबारसम्म फिल्मको ट्रेलरले १० लाख भ्युजसहित १ हजार १ सयबढि प्रतिक्रिया र २९ हजार बढि लाईक पाएको छ । ट्रेलरको कमेन्टबक्समा अधिकांशले फिल्म हेर्न प्रतिक्षा गर्न नसक्ने भन्दै कार्तिक २१ कहिले आउला झैं भएका प्रतिक्रिया दिएका छन् ।

त्यससँगै दयाहाङ र मिरुनाको जोडी पनि निकै सुहाएको र विजय बरालले विशेष उत्साह थपेको प्रतिक्रिया पनि कमेन्टबक्समा हेर्न सकिन्छ ।

फिल्मको ट्रेलरले लिम्बु समुदायको आफ्नो सांस्कृतिक पहिचान र त्यसको सेरोफेरोमा सामाजिक र पारिवारिक उकालो–ओरालोमा केन्द्रित हुने जनाउँ दिन्छ ।

मेला र पर्वको रमाइलो र च्याब्रुङको तालसँगै लयमा सम्हालिएर अगाडि बढेको ट्रेलरले दर्शकको मन पनि जित्दै जान्छ । जब सानो कुराले श्रीमान् र श्रीमती अर्थात् दयाहाङ र मिरुनाबीच खटपट सुरु हुन्छ अनि सुरु हुन्छ ट्रेलरमा द्वन्द्व । माइतीपक्षले छोरी÷चेलीले उसको घरमा इज्जत नपाएको थाहा पाएपछि लिन जान्छ । दुईतिरको समाज बस्छ ।

माइतीले दिएको र बजाउन सिकाइदिएको च्याब्रुङ च्यातिएँगै दिनदशा सुरु हुन्छ । सशुराली खलकले लेखेटेको रिस श्रीमानले श्रीमतीमाथि पोखेपछि ऊ माइती जान्छे ।

बालख छोरीले आमा खोज्छे, बाउले छोरालाई बुहारी लिन जान दबाब दिन्छन् । एक्लोपनको महसुस गर्न थालेको छोरो अर्थात् दयाहाङको अनुहारमा पश्तापको भारी देखिन्छ । तर, मुखले ब्यक्त गर्दैन ।

यता, विजय बरालकी श्रीमती पनि माइत गएपछि घर फर्किन मान्दिन । तर ससुरालीले जिउको बदला जिउ भन्दै नयाँ दुलही अन्माइदिन्छ । तर, दुलहीको एउटा आँखा हुँदैन ।

त्यसको पिरमा विजयको तनाव देखिन्छ । त्यही बेला घर छोडेर माइत बसेकी मिरुनालाई नयाँ प्रस्ताव आउँछ । ज्वाइँ लिन आएनन्, लाउरेले मन पराएको छ, जारी तिर्न सक्ने हो भने बाटो खुला छ ।

अथवा ‘जारी २’ भयो लाहुरेको इन्ट्री । तर, लाहुरे को हो ट्रेलरले सस्पेन्स राखेको छ । यता, मेलामा दयाहाङलाई पनि सोल्टिनीसँग देखिन्छ । साथीले सोध्छ, बिहे गर्ने हो ? दयाहाङले के भने सस्पेन्स छोडेको छ ट्रेलरले । लिम्बु संस्कृतिभित्र रहेर वैवाहिक जीवनको उतारचढाव देखाएको ट्रेलरले सिनेमालाई प्रतिक्षित बनाएको छ ।

उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ । फिल्ममा दयाहाङ, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म वर्षकै उच्च व्यापार गर्ने श्रेणीमा राखिएको छ । ‘जारी’ फिल्म २०८० सालको ब्लकबस्टर सिनेमा हो । सो वर्ष फिल्मले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । त्यसैले यो फिल्मलाई बहुप्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्