फिल्म ‘पशुपति प्रसाद २ ः भष्मे डन’ को पहिलो दिनमा नै आक्रामक ‘ओपनिङ’

काठमाडौं, ११ कात्तिक । फूलपाती (कात्तिक ४)बाट प्रदर्शन थालेको फिल्म ‘पशुपति प्रसाद २ ः भष्मे डन’ ले पहिलो दिनमा नै २ करोड ४० लाखको आक्रामक ‘ओपनिङ’ गरेको छ । दशैंको माहोलमा प्रायः दर्शकको रोजाईमा फिल्म पर्ने गर्छ । यसैले दशैंको छेकोमा रिलिज भएका फिल्मले अन्य समयको तुलनामा राम्रो व्यापार गर्छन् । त्यसमाथि ‘वर्ड अफ माउथ’ पनि सशक्त भए व्यापारमा उछाल नै आउँछ । यसको तत्तातो उदाहरण फिल्म ‘पशुपति प्रसाद २ ः भष्मे डन’ बनेको छ । फूलपाती (कात्तिक ४)बाट प्रदर्शन थालेको फिल्मले ठूलो मात्रामा दर्शक पाइरहेको छ ।

फिल्मले पहिलो दिनमा नै २ करोड ४० लाखको आक्रामक ‘ओपनिङ’ गरेको थियो । दोस्रो दिनबाट पनि व्यापार खस्किएको छैन । निर्माताले कलेक्सन रिपोर्ट सार्वजनिक नगरे पनि फिल्मले प्रत्येक दिन २ करोड आसपास कमाई गरिरहेको छ । मल्टीप्लेक्सहरुले उपलब्ध गराएका प्रायः शोहरुमा शतप्रतिशत अकुपेन्सी देखिएको छ । र, बुधबारबाट फिल्ममा दर्शकहरुको चाप थप बढेको छ ।

‘भष्मे डन’लाई बिहीबारदेखि प्रदर्शन थालेको साउथ फिल्म ‘लियो’ र शुक्रबारदेखि प्रदर्शनरत बलिउड फिल्म ‘गणपत’ ठूलो चुनौती मानिएको थियो । तर, यी दुवै फिल्मले गतिलो प्रतिक्रिया पाउँदा फिल्मलाई हलमा आफ्नो दबदबा कायम गर्न सहज भएको छ । र, ‘वर्ड अफ माउथ’ पनि बलियो भएकाले व्यापार खस्किन पाएको छैन । चार दिनमै फिल्मको लगानी उठाइसकेको जनाइएको छ ।

दशैं मनाउन यतिबेला धेरै काठमाडौंभन्दा बाहिर छन् । यसैले मोफसलका प्रायः हलमा फिल्म हेर्न दर्शकको रहरलाग्दो चहलपहल देखिएको छ । विशेषगरि, चितवन, पोखरा, हेटौंडा, नेपालगञ्ज, विर्तामोड, दाङ, बुटवल लगायत ठूला शहरका हलहरुमा फिल्मको व्यापार उच्च छ । त्यसो त टीकाको दिनसम्म सुनसानझैं देखिएको काठमाडौंमा पनि फिल्मले दर्शकको अभाव झेल्नु परेको छैन ।

दीपेन्द्र के. खनालको निर्देशन र खगेन्द्र लामिछानेको लेखन तथा निर्माता रहेको फिल्ममा विपिन कार्की, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, स्वस्तिमा खड्का, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्म हेरेका धेरैजसो दर्शकले ‘पशुपति प्रसाद ३’को सर्वाधिक डिमाण्ड गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्