महिला केन्द्रित फिल्म ‘दान्भी’मा पूजा बलशाली, पोस्टर र टिजर सार्वजनिक

 

काठमाडौं, ३० मंसिर । महिला केन्द्रित फिल्म ‘दान्भी’को पोस्टर र टिजर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक टिजरमा अभिनेत्री पूजा शर्मा बलशाली देखिएकी छन् । म्यूजिक भिडियोमा स्थापित कुन्साङ बम्जनले फिल्म ‘दान्भी’बाट अभिनेताको रुपमा डेब्यूको मौका पाएका छन् । फिल्ममा उनको अपोजिटमा पूजा शर्मा छिन् । फिल्मको एक मात्र नायक भएकाले उनको चर्चा राम्रो हुने अनुमान गरिएको थियो । तर, पोस्टर र टिजरमा उनको उपस्थितिले निराश बनाउँछ । निर्देशक रुपेश तामाङले पूजालाई प्राथमिकता दिँदा कुन्साङ छायाँमा परेका छन् ।

बिहीबार सार्वजनिक टिजरमा उनको संवाद समेत छैन । र, उनको चरित्रलाई एकदमै लाचार देखाइएको छ । पूजा भने बलशाली देखिएकी छन् । महिला केन्द्रित फिल्म भएकाले पनि कुन्साङ ‘टाइपकास्ट’ भएका हुनसक्छन् । टिजरमा छायाँमा परेका उनलाई पूजाले भने अबको ‘सुपरस्टार’ भन्दै ढाडस दिएकी छन् । पहिलो फिल्ममै कुन्साङले गरेको मिहिनेतको उनले प्रशंसा गरेकी छन् ।

टिजर रिलिज कार्यक्रममा पूजाले भनिन्, ‘कुन्साङले डेब्यू फिल्मका लागि एकदमै मिहिनेत गरेको छ । लभ सङमा त ऊ यसै राम्रो थियो । किनकि, उसले म्यूजिक भिडियोमा काम गरिसकेको छ । तर, एक्सनमा हिरोमा र अबको सुपरस्टार चाहिँ म कुन्साङलाई देख्छु । उसले यो फिल्ममा एकदमै राम्रो काम गरेको छ ।’ पूजाले आफ्नो खुलेर तारिफ गर्दा कुन्साङ नतमस्तक देखिएका थिए ।

टिजरमा पर्याप्त ठाउँ नपाउँदा पनि कुन्साङ खासै निराश देखिएनन् । टिजरमा ‘दान्भी’ के हो भन्ने मात्र देखाउन खोजिएको बताउँदै उनले फिल्मप्रति आफू विश्वस्त रहेको बताए । ‘टिजरमा चाहिँ हामीले ‘दान्भी’ के हो भन्ने कुरालाई मात्र ‘जस्टिफाइ’ गर्न खोजेका हौं ।

फिल्मप्रति म ‘कन्फिडेन्ट’ छु । पूरा फिल्म हेरिसकेपछि म ओझेलमा परेको महसुस दर्शकहरुलाई हुँदैन,’ उनी विश्वस्त सुनिए ।पूजालाई भने अब एक्सन फिल्मको नशा चढेको छ । अर्को फिल्म पनि एक्सन गर्ने उनले निधो गरिसकेकी छन् ।

उनी भन्छिन्, ‘म यसपछि पनि एक्सन फिल्म नै गर्ने हो । एक्सनमा छुट्टै मज्जा आउने रैछ । मलाई योभन्दा अझै दाम्मी एक्सन फिल्म गर्न मन छ । म आफैं बनाउने तयारीमा छु । स्क्रिप्टको काम पनि हुँदैछ ।’ उनले लभस्टोरीभन्दा एक्सन फिल्म गाह्रो हुने पनि अनुभव साटेकी छन् ।

प्रतिक्रिया दिनुहोस्