गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो नबनाउने

काठमाडौँ, २२ पुस । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो नबनाउने प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन । आइतबारदेखि च्यासलमा सुरु भएको एमाले केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै  अध्यक्ष ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति एकजुट भएकाले प्रतिक्रियावादीहरु आतङ्कित भएका बताएका छन ।
प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीहरु एमालेविरुद्ध झुठा प्रचारमा लागेका टिप्पणी गरे । एमालेको लोकप्रियता देखेर त्यसलाई क्षीण पार्ने तथा एमालेलाई बदनाम गर्न विरोधीहरु लागेका बताउँदै अध्यक्ष ओलीले एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न पार्टीका सबैलाई आग्रह गरे ।
“हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । हाम्रा सबै सङ्गठनहरु उत्साहित भएर व्यक्ति–व्यक्ति र घरघरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ”, अध्यक्ष ओलीले भने, “पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । बहकाउमा लागेर होइन, एउटै नीतिमा अडिग भएर पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्नुपर्छ ।”
पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह गर्दै अध्यक्ष ओलीले पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर खुसी मनाउ गर्नेहरु पश्चाताप गरिरहेको टिप्पणी गरे ।
बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नयाँ राजनीतिक मार्गचित्र, एमाले र नेपाली कांग्रेससँगको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, वर्तमान गठनबन्धनपछिका छ महिना, बदलिँदो विश्व परिवेश र मुलुकको पराराष्ट्र नीति, स्थानीय तह उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माणलाई समेटेका छन ।
नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश प्रवाह भएको, साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार आएको, सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रियहितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रको बेथिति अन्त्यगरी बचतकर्तालाई न्याय तथा अनियमिततामा संलग्नलाई सजाय गरिएको र विकास–निर्माणले गति लिएको मुख्य जानकारी गराए ।
बैठकमा राजनीतिक प्रतिवेदनका साथै साङ्गठनिक कामको सङ्क्षिप्त जानकारी, गत वैशाखमा भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकपछिका केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकका निर्णयहरुबारे जानकारी, केन्द्रीय आयोगका अध्यक्षहरुको सम्बोधन र समसामयिक विषयमा महासचिव शङ्कर पोखरेलले बैठकमा जानकारी गराएका थिए ।
बैठकले पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरु निरज आचार्य र विष्णु रिजाल रहेको ‘बहस नोट कमिटी’ तथा केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरु रघुजी पन्त र खगराज अधिकारी रहेको समसामयिक प्रस्ताव समिति गठन गरेको छ ।
नेकपा एमालेले पार्टीविरुद्धको भ्रम चिर्न र संगठन विस्तार गर्न ३ लाख नेता कार्यकर्ता परिचालन गर्ने भएको छ । एमाले केन्द्रीय कमिटी बैठकमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पेस गरेको सांगठानिक प्रतिवेदनमा आगामी माघ महिनादेखि सुरु गर्ने तीन महिने वडा केन्द्रित कार्यक्रममा ३ लाख नेता कार्यकर्ता परिचालन गर्ने प्रस्ताव गरिएको हो ।
‘अभियानबाट भौगोलिक र गैर–भौगोलिक करिब ८ हजार वडा÷शाखा तहका कमिटीहरु, टोल तथा प्रारम्भिक कमिटी स्तरका १० हजारभन्दा बढी कमिटीहरूको क्रियाशीलता बढाइ राष्ट्रिय रूपमा ३ लाखभन्दा बढी नेता कार्यकर्ता पार्टी तथा जनसंगठन निर्माण, जनपरिचालन र पार्टी र नेतृत्वविरुद्धका भ्रामक प्रचारको प्रतिवाद गर्न परिचालित हुने अपेक्षा लिइएको छ’, प्रतिवेदनमा भनिएको छ ।
वडा केन्द्रित अभियानको उद्देश्य जग तहमा पार्टी सदस्यता नवीकरण तथा विस्तार, संगठन निर्माण र सबलीकरण रहेको उल्लेख छ ।
जस अन्तर्गत एमालेले पार्टी जिल्ला कमिटीको निर्णयले २०८२ का लागि योग्य ठहरिएका सबै पार्टी सदस्यहरूले चैतभित्रै नवीकरण गर्ने र  दुई लाख नयाँ सदस्यहरू थप हुने विश्वास गरेको छ ।
अभियान अन्तर्गत हाल रहेको ७ हजार ५ सय ९ वडा स्तरको कमिटीमा थप ५ सय शाखा तथा वडास्तरका कमिटीहरू गठन गर्ने र अधिवेशन बाँकी रहेका सबै वडास्तरका कमिटीहरूको अधिवेशन चैत मसान्तभित्र सम्पन्न गर्ने अधिकारीको प्रतिवेदनमा उल्लेख छ ।
हाल रहेका टोलस्तरका कमिटीमा ५ हजार टोलस्तरका कमिटीहरू थप निर्माण गर्ने पनि एमालेले जनाएको छ ।
उद्देश्य २ अन्तर्गत एमालेले जनसंगठनका स्थानीय अधिवेशन सबै सम्पन्न गरेर सम्बन्धित जनसंगठनको विधान बमोजिम वडा तहमा कमिटीहरू बन्दा सबै जनसंगठनको सदस्यताको अभिलेख व्यवस्थित हुनुका साथै हालको संख्यामा कम्तीमा ७ लाख सदस्य थपिने अपेक्षा गरेको छ ।
त्यस्तै उद्देश्य ३ अन्तर्गत पार्टीको नीति र नेतृत्वविरुद्ध फैलाइने सबै प्रकारका भ्रम र राष्ट्रिय निराशा फैलाउने सबैखाले प्रयत्नहरुको तत्काल प्रभावकारी प्रतिवाद गर्ने एक लाख सन्देशहरू प्रवाह गर्ने भएको छ । ‘लक्षित ३ महिनाको अवधिमा सामाजिक सञ्जालमा राष्ट्रिय समृद्धि, आशा र जनताप्रति विश्वास जगाउने न्यूनतम १ लाख सन्देशहरू प्रवाह हुनेछ’, एमालेले भनेको छ ।
‘राष्ट्रिय निराशा फैलाउने, पार्टी र नेतृत्वविरुद्ध भ्रम फैलाउने सबै खालका प्रचार र षड्यन्त्रका विरुद्ध तथ्यमा आधारित प्रभावकारी प्रतिकारमा न्यूनतम ५० हजार डेडिकेटेड नेता कार्यकर्ता परिचालन हुनेछन्’, अधिकारीको प्रतिवेदनमा भनिएको छ ।  यो अभियान अन्तर्गत ५ लाख नेता कार्यकर्ता जानकार र प्रशिक्षित हुने पनि एमालेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्