आङबो कोशीको मुख्यमन्त्री बन्ने

काठमाडौं, २४ असोज । कोशी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन् । नेपाली कांग्रेस र एकीकृत समाजवादीको नेतृत्वले दाबी छोडेपछि आङ्बो मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएका हुन् । संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म समय दिइएको छ । यो उपधारामा प्रदेशसभाको बहुमत सदस्यको समर्थन जुटाउनेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान छ । मुख्यमन्त्री बन्न संसदीय दलको नेता नै आवश्यक नपर्ने भएपछि गठबन्धनभित्रै आकांक्षा राख्ने नेताहरुको संख्या बढेको थियो ।

कांग्रेसमा संसदीय दलका नेता उद्धव थापासँगै केदार कार्की, अमृत अर्याल, भीम पराजुली आकांक्षी थिए । कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै डा. शेखर कोइरालाले प्रधानमन्त्रीसँग भेट पनि गरेका थिए । तर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड आफ्नो दलका आङ्बोलाई मुख्यमन्त्री बनाउने पक्षमा देखिए ।
उनले गठबन्धनका नेताहरुसँग छलफल गरेका थिए । मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेका प्रचण्डले राप्रपाले कांग्रेसलाई समर्थन नगर्ने, तर आफूहरुलाई साथ दिने सन्देश कांग्रेस नेताहरुलाई दिए ।

बुधबार विहान भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समेत आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमति दिएको स्रोत बताउँछन् । शेखर काइरालाहरुको प्रस्तावअनुसार दलका नेता बाहेकलाई मुख्यमन्त्री बनाउन देउवा तयार नभएपछि माओवादी दलका नेता आङ्बो मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएका छन् । कांग्रेस नेताहरु आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमत देखिएपछि एकीकृत समाजवादीले पनि दाबी छाडेको छ ।

 

प्रतिक्रिया दिनुहोस्