सप्तरीको नमोबुद्ध युथ क्लब लाई ३–० गोलले हराउदै पाँचथर सेमिफाइनलमा प्रवेश

 

काठमाडौं, १२ फागुन । चौथो पाँचथर गोल्डकप प्रतियोगितामा आयोजक पाँचथर क्लबले विजयी सुरुआत गरेको छ । शनिबार उद्घाटन खेलमा सप्तरीको नमोबुद्ध युथ क्लब लाई ३–० गोलले हराउदै पाँचथर सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्थानिय खेलाडी मात्र समेटेर टोलीको निर्माण गरेको पाँचथरले नमोबुद्ध माथि जित निकालेको हो । ए डिभिजन र नेपाल सुपर लिग खेलेका अनुभवी खेलाडी लिएर उत्रेको नमोबुद्ध पहिलो खेलमै स्तब्ध बन्यो । पाँचथरको जितमा शुकराज राईले ह्याट्रिक गरे ।

फिदिम माविको खेलमैदान आठौं मिनेमा शुक्रराजले पहिलो गोल गरेका थिए । विपक्षी गोलकिपरले बल क्लियर गर्न नसक्दा शुक्रराजको गोल सम्भव भएको हो । खेलको ३३ औं मिनेटमा शुक्रराजले अर्को गोल गरे । मध्यभागबाट बल अघि बढाउँदै उनले गोल गरेका थिए । ६१ औं मिनेट जमिन लम्समको पासमा गोल गर्दै शुक्रराज ह्याट्रिक पूरा गरका थिए ।दोश्रो हाफमा केहि सुधारिएको प्रर्दशन गरे पनि नमोबुद्ध खेलमा फर्कन सकेन । ७० औं मिनेटमा नमोबुद्धका सुदिप लामाको प्रहार आकाशियो । ७४ औ मिनेटमा नमोबुद्धका सरोज तामाङको प्रहार पाँचथरका गोलकिपर मिराक खजुमले मुस्किलले बचाएका थिए ।

खेलाडीका बीचमा तालमेल नमिल्दा पराजित हुन परेको नमोबुद्धका प्रशिक्षक सुरेश लामाले बताए । खेल रणनित अनुसार खेलाडीले खेल्दा जित सम्वभ भएको पाँचथरका प्रशिक्षक मिलन जबेगुले बताए । ह्याट्रिक गरेका शुक्रराज म्यान अफ दि म्याच बन्दै ५ हजार रुपैयाँ प्राप्त गरे । उग्रेन तामाङ खेलको फ्यान अफ दि म्याच बने । सुटआउट हिरो ( खेलमैदानको बिचबाट गोल गर्ने दर्शक) राजेश राई बने ।

दुबैले समान २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।उद्घाटन खेलमा १ हजार ८ सय ७७ दर्शक प्रवेश गरेका छन् । पहिलो दिन ६ सय ७९ टिकट विक्रीबाट १ लाख १ हजार ८ सय ५० रुपौयाँ संकलन भएको आयोजकले जानकारी दिएका छन् । ए डिभिजन क्लब त्रिभुवन आर्मी फुटबल सहित ८ टोलीले सहभागिता रहेको प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख ५ हजार, दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्