प्रशिक्षणमा फर्किए एम्बाप्पे

kylian mbappe

२८ साउन, काठमाडौं । फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजीका) फरवार्ड केलियन एम्बाप्पे टिमको प्रशिक्षणमा फर्किएका छन् ।

पीएसजी छाडेर रियल मड्रिड जाने योजना बनाएपछि उनी प्रशिक्षणमा देखिएका थिएनन् । २४ वर्षीय प्रेन्च फरवार्ड शनिवार लोरिएन्स विरुद्ध गोलरहित बराबरी भएको खेलमा टिममा थिएनन् ।

तर प्रशिक्षणमा पर्केपछि उनले पीएसजीमा नै सम्झौता नवीकरण गर्ने आकलन गर्न थालिएको छ ।

पीएसजीले ‘धेरै रचनात्मक र सकारात्मक’ वार्तापछि एम्बाप्पेलाई पुनर्बहाली गरेको बताएको छ ।

‘पेरिस सेन्ट जर्मेन र केलियन एम्बाप्पे बीच धेरै रचनात्मक र सकारात्मक छलफलपछि, खेलाडीलाई आज बिहान पहिलो टोलीमा प्रशिक्षणमा समावेश गरिएको छ,’ पीएसजीले आइतबार भनेको छ ।

फ्रान्सको राष्ट्रिय टिमको कप्तान समेत रहेका एम्बाप्पेले ओसमान डेम्बेलेसँगै स्ट्यान्डमा बसेर शनिबार पीएसजीको खेल हेरेका थिए ।

पीएसजीमा एम्बाप्पेको सम्झौता एक वर्ष बाँकी छ र उनले सम्झौता थप गर्न अस्वीकार गर्दै आएका छन् ।

गत महिना पीएसजीले साउदी अरेबियन क्लब अल हिलाललाई एम्बाप्पेलाई अनुबन्ध गरेबारे छलफल गर्न अनुमति दिएको थियो ।

अल हिलालले एम्बाप्पेका लागि कीर्तिमानी २५ करोड ९० लाख पाउण्ड प्रस्ताव गर्ने चर्चा थियो ।

पीएसजीका अध्यक्ष अल खेलाइपीले एम्बाप्पेलाई कुनै पनि हालतमा फ्रि मा नछाड्ने अडान लिएका थिए ।

तर पछिल्लो छलफलपछि एम्बाप्पेले एक वर्षको सम्झौता नवीकरणमा हस्ताक्षर गर्ने अपेक्षा छ । त्यसो भएमा एम्बाप्पेको सम्झौता २०२५ सम्म हुनेछ र पीएसजीले अर्को सिजनमा एम्बाप्पेलाई रियलमा बेच्न सक्नेछ ।

सन् २०१७ मा मोनाकोबाट पीएसजी पुगेका एम्बाप्पेले पीएसजीका लागि २६० खेल खेल्दै क्बल कीर्तिमानी २१२ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्