नेपाली फिल्ममा थिएटर र फिल्म स्कूलमा पढेर आएकाहरुको उपस्थिति बढ्दो

 

काठमाडौं, २८ पुस । नेपाली फिल्ममा थिएटर र फिल्म स्कूलमा पढेर आएकाहरुको उपस्थिति दिनानुदिन बढ्दो क्रममा छ । कोही अभिनयमा सक्रिय छन् त कोही निर्देशन र अन्य विधामा अगाडि बढेका छन् । समग्रमा प्रायःले आफ्नो रुचिको विधामा सम्भावना देखाएका छन् । त्यसमध्ये एक हुन्, सिम्रन खड्का । उनी कान्तिपुर फिल्म एकेडेमीकी पूर्वविद्यार्थी हुन् । यतिबेला फिल्म बजारमा उनको चर्चा छ ।

गत वर्ष प्रदर्शन भएको फिल्म ‘प्रेमगञ्ज’ उनको करिअरको पहिलो खड्किलो थियो । यो फिल्मले सिम्रनलाई दर्शकको ठूलो वर्गमा चिनाउन चुकेको भए पनि उनी फिल्मकर्मीको आँखामा भने परेकी थिइन् । नकारात्मक चरित्रमा उनको अभिनय प्रशंसनीय थियो । कम ‘स्क्रिन स्पेश’मा पनि उनले आफूलाई अभिनयमा प्रमाणित गरेकी थिइन् । यही फिल्मले उनलाई दोस्रो फिल्म ‘चित्रा’ दिलायो ।

शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्मको सोमबार काठमाडौंमा प्रिमियर राखिएको थियो । फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान जस्ता नाम चलेका कलाकारहरुको अभिनय छ । तर, प्रिमियरमा चर्चा भने सिम्रनको भैदियो । गौरी मल्लदेखि दीपाश्री निरौलासम्मले उनको अभिनयको प्रशंसामा शब्द खर्चिन कञ्जुसाइँ गरेनन् । त्यसको उनी हकदार पनि थिइन् ।

‘चित्रा’मा सिम्रनले अभिनेता सन्तोष अधिकारीको छोरीको भूमिका निभाएकी छन् । चुलबुले स्वभावको चरित्रमा उनको प्रभावशाली अभिनय देखिन्छ । अभिनयको तुलनामा उनी फिल्मका सबै कलाकारमाथि हाबी छिन् । उनको अभिनय नै फिल्मको मेरुदण्ड हो । डाइलग डेलिभरीमा भने उनले अझै राम्रो मेहनत गर्नुपर्ने देखिन्छ । तथापि, ‘चित्रा’मा उनले निराश बनाउने ठाउँ छाडेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्