प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल्ने मधेश प्रदेशको टोली घोषणा

काठमाडौं, २ पुस । पुष पहिलो सातादेखी काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल्ने मधेश प्रदेशको टोली घोषणा भएको छ । अनुभवी बलर कविता गौतमको कप्तानीमा मधेश प्रदेशको टोली घोषणा भएको हो । घोषणा टोलीमा नेपाली क्रिकेट टोलीका अलराउन्डर विवेक यादवकी बहिनी साक्षी पनि अटाएकी छिन् । साक्षीले शीर्षक्रममा ब्याटिङसँगै तीव्र गतिमा बलिङ पनि राम्रो गर्ने गर्दछिन् ।

जिल्ला र प्रदेश दुबै छनोटमा राम्रो प्रदर्शन गर्दै पहिलो पटक टोलीमा परेकी हुन् । घरेलु टोलीमा मधेशबाट लगातार राम्रो प्रदर्शन गर्दै आएकी साना प्रविन पनि टोलीमा छिन् । मधेशले पुष ५ गते टियु क्रिकेट मैदानमा बागमती प्रदेशसँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । पुष ६ गर्ते नेपाल एपिएफ क्लबसँग टियुमा खेल्नेछ । सबै टोलीसँग एक अर्कासँग खेलेर शीर्ष चारमा पर्न सके प्लेअफ खेल्नेछ ।

पिएम कप महिला पुष ५ देखी १७ गतेसम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र नेपाल एपिएफ क्लबको सहभागीता रहनेछ । पहिलो पटक राउन्ड रोविनको आधारमा खेल हुनेछ । सबै टोलीले एक अर्कासँग खेल्नेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । एलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोली भिड्नेछन् । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ ।

मधेशको टोलीमा कविता गौतम (कप्तान), अनुराधा चौधरी, एलिसा यादव, प्रतिमा शाह, साना प्रविन, सबनम खातुन, मिना महतो, पुजा महतो, साक्षी यादव, रोजी कडारी, भूमी सिंह, आरती महतो, सरस्वती चौधरी र चान्दानी खातुन रहेका छन ।
वैकल्पिक खेलाडीमा सीमा कुँवर, मोनिका शाह, अमिशाह पटेल र अर्चना चौधरीरहेका छन ।

प्रतिक्रिया दिनुहोस्