एसियाली खेलकुदमा करातेमा रजत र महिला कबड्डीमा कास्य पदक प्राप्त

काठमाडौं, २२ असोज । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा नेपालले करातेमा रजत र महिला कबड्डीमा कास्य पदक प्राप्त गरेको छ । करातेमा एरिका गुरुङले रजत पदक जितेकी छन । नेपाली कराते खेलाडी गुरुङले महिला ६८ केजी तौल समूहमा रजत पदक प्राप्त गरेकी हुन् । करातेमा रजत पदक जितेकी गुरुङले पुरस्कार वापत नेपाल सरकारबाट साढे १९ लाख रुपैयाँ प्राप्त गर्ने भएकी छिन् । एरिकाले शनिबार ६८ केजी तौल समूहमा रजत पदक जितेकी हुन् । नेपालले एसियाड सम्पन्न हुनु एक दिन अघि १ रजत र १ कास्य पदक जितेको छ । एसियाडमा करातेले पहिलो पटक रजत पदक जितेको हो भने महिला कबड्डी टोलीले पहिलो सहभागितामा नै कासय पदक जितेको हो ।

नेपाल सरकारले एसियाडमा नेपालले जितेको २ पदकका लागि खेलाडी, प्रशिक्षक र सम्बन्धित संघलाई गरि ८९ लाख ७० हजार रुपैयाँ पुरस्कार दिनेछ । राष्ट्रिय खेलकुद विकास नियमवाली २०७९ को अनुसार एसियाडमा व्यक्तिगत स्पर्धामा रजत पदक जित्ने खेलाडीले १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रावधान छ । यस्तोमा एरिकाले रजत पदकको लागि साढे १९ लाख रुपैयाँ पाउने भएकी हुन् ।

यससँगै व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने खेलको मुख्य प्रशिक्षकले ३ लाख ९० हजार र सहायक प्रशिक्षक तथा व्यवस्थापकले १ लाख ९५ हजार तथा सम्बन्धित संघले ६ लाख ५० हजार रुपैयाँ पाउने कार्यविधिमा उल्लेख छ । करातेको मुख्य प्रशिक्षकमा कुशल श्रेष्ठ, सहायक प्रशिक्षकमा छोरी डंगोल तथा व्यवस्थापकमा निवासगोपाल वैद्य छन् । नेपाल कराते महासंघ पनि सरकारबाट ६ लाख ५० हजार रुपैयाँले पुरस्कृत हुनेछ ।

त्यस्तै समूहगत स्पर्धाको कास्य पदक विजेता कबड्डी टोलीका हरेक खेलाडीले जनही ३ लाख ९० रुपैयाँ पाउनेछन् । कास्य जित्ने खेलका मुख्य प्रशिक्षकले २ लाख ६० हजार र सहायक प्रशिक्षकले १ लाख ३० हजार रुपैयाँ पाउनेछन् । कबड्डीमा पार्वती राई मुख्य प्रशिक्षक र विष्णु दत्त भट्ट प्रशिक्षक छन् । व्यवस्थापक डिल्लीराम काफ्लेले पनि १ लाख ३० हजार पाउनेछन् । उनी राष्ट्रिय खेलकुद परिषदका कर्मचारी हुन् ।

त्यस्तै कबड्डी संघले ३ लाख ९० हजार रुपैयाँ पाउनेछ । एरिकाले कराते इतिहासमा नै एसियाडको पहिलो रजत पदक जितेकी हुन् । यसअघि नेपालमा सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडीङ टोलीले रजत पदक जितेको थियो ।यसअघि नेपालले १८ औं संस्करणसम्म आइपुग्दा २ रजत र २२ कास्यसहित २४ पदक जितेको थियो । यसपटक नेपालले १ रजत र १ कास्य पक्का गरिसकेको छ । अब आइतबार करातेमै ५० केजी समूहमा सविना श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी छ ।

यसैगरी, विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश भलिबल संघ वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भएको फाइनलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बन्न सफल भएको हो । पहिलो सेट २५–१७ ले जितेको गण्डकीले दोस्रो सेट १७–२५ ले नै गुमाउन पुगेको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेट गण्डकीले २५–२१ ले आफ्नो पक्षमा पार्दे जिततर्फ अग्रसर बन्यो ।

चौथो सेटमा सुरुवातदेखि नै अग्रता लिदै गण्डकीले २५–२ई ले जित्दै खेल आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो ।उपाधिसँगै गण्डकीले ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख ५० हजार रुपैयाँ हात पारेको छ ।
सोमबारै नेपाल एपिएफ क्लबलाई २५–२०, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गर्दै धौलागिरी रेष्टुरेन्ट ओसाका जापानले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो भएको ओसाका जापानले १ लाख र चौथो भएको एपिएफले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । सर्वाेत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डर र क्विकरले समान ५ हजार रुपैयाँ प्रदान गरिनेछ । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा १८ असोजदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्