आर्मी क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुग्यो

 

कास्की, १९ माघ । त्रिभुवन आर्मी फुटबल क्लब आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
पोखरा रंगशालामा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई बिहीबार २–१ ले हराउँदै आर्मी आहा राराको २३ औं संस्करणको फाइनल पुगेको हो ।

रसबहादुरले अतिरिक्त समयको नवौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो । मैदानको दायाँबाट वसन्त जिम्बाले क्रस गरेको बलमा कसैको निगरानीमा नरहेका रसबहादुरले नजिकबाट हेड मार्फत गोल गरेका थिए ।‌ आर्मीले शनिबार हुने फाइनलमा पाँच पटकको‌ विजेता थ्री स्टार क्लबको‌ सामना गर्नेछ ।

पाँचौं पटक फाइनल पुगेको आर्मीले अहिलेसम्म आहा रारा गोल्डकपको उपाधि जितेको छैन । त्यसअघि निर्धारित समय १–१ को बराबरीमा खेल टुंगिएको थियो । खेलमा अग्रता आर्मीले लिएको थियो । दिनेश हेन्जनले ६१ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । दिनेशले झन्डै २५ कार्डबाट फ्रिकिकमा गोल‌ गरेका थिए । प्रतियोगितामा दिनेशको त्यो तेस्रो गोल हो ।

फाइनल अघिसम्म उनी प्रतियोगिताका सर्वाधिक गोलकर्ता हुन् । निर्धारित समयको सकिन ५ मिनेटमा बाँकी रहँदा समिर तामाङले बराबरी गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काएका थिए । आर्मीका दुई डिफेन्डरको बीचबाट अघि बढाउँदै समिरले पोष्ट नजिकबाट गोल गरेका थिए ।

नेपाल पुलिस क्लबलाई‌ क्वाटरफाइनलमा १–० ले हराउँदा समिरले नै निर्णायक गोल गरेका थिए । प्रतियोगिताको फाइनल शनिबार हुनेछ । जावलाखेल युथ क्लबलाई बुधबार १–० ले हराउँदै थ्री स्टार फाइनल पुगेको थियो । सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्