इजरायलमा दिवङ्गत नेपालीहरुप्रति सम्मान  गर्दै  राष्ट्रिय शोक घोषणा

काठमाडौँ, २२ असोज । इजरायलमा आतङ्कवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिक नेपालीप्रति सम्मान व्यक्त गर्दै सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । असोज २० गते दक्षिण इजरायलको किबुच अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनको अतिवादी समूह हमासले गरेको आक्रमणमा परी १० जना नेपालीको दुःखद निधन भएको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त अकल्पनीय घटनामा दिवङ्गत नेपालीहरुप्रति सम्मान व्यक्त गर्दै  असोज २३ गते मङ्गलबार राष्ट्रिय शोक घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन ।
मन्त्रिपरिषद्को  बैठकले इजरायलमा आतङ्कवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोगस्वरुप प्रतिपरिवार रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले स्वदेश फर्कन चाहनेहरुलाई नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्सको विमान चार्टर गरी स्वदेश ल्याउने व्यवस्था गर्ने निर्णय गरेको छ । बैठकले यही असोज २० गते दक्षिण इजरायलको किबुच अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनको अतिवादी समूह हमासले गरेको आक्रमणमा परी १० जना नेपालीको दुःखद निधन भएकामा मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै बैठकले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयले इजरायलस्थित राजदूतावाससँग समन्वय गरी शव यथाशीघ्र नेपाल ल्याउने निर्णय गरेको छ । इजरायललस्थित नेपाली राजदूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा बेपत्ता भएकाको खोजी गर्ने  तथा घाइतेहरुको उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ । मन्त्रिपरिषद् बैठकले इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण ‘अनलाइन’ सङ्कलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउने व्यवस्था गर्न तथा स्वदेश फर्कन चाहनेलाई आफ्नो विवरण प्रविष्ट गराउन निर्देशन गरेको छ ।
सरकारले इजरायलमा रहेका नेपालीको उद्धार र स्वदेश फिर्तीमा सहयोग गर्न स्थानीय भाषामा पोख्त व्यक्तिबाट बढीमा तीन महिना सेवा लिन स्वीकृति दिने निर्णय गरेको छ ।इजरायललस्थित नेपाली राजदूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार, समन्वय र सहजीकरण गर्ने, नेपाल फर्कन चाहनेलाई अस्थायी ‘ट्रान्जिट होम’ स्थापना गरी व्यवस्थापन गर्न उक्त दूतावासलाई स्वीकृति दिने निर्णयगरिएको सञ्चारमन्त्री शर्माले जानकारी दिइन ।
सरकारले इजरायलमा रहेका नेपालीहरुकाको उद्धारका लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकी र अन्य मित्रराष्ट्रहरुसमेतको सहयोग लिने पनि निर्णय गरेको छ । उक्त घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात र समाजमा पर्ने असर समेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्री सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न बैठकले अनुरोध गरेको छ ।
यसैगरी,प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थी विपीन सुवेदीसँग संवाद गरेका हुन । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई शीघ्र उद्धार गरिने र त्यसका लागि सरकार लागिपरेकाले नआत्तिन आग्रह गरेका छन । प्रधानमन्त्री प्रचण्डले सरकार पछिल्लो तीन दिनदेखि नेपाली विद्यार्थीको उद्धारमा लागिपरेको बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीस्तरमा पनि कुराकानी भएको र इजरायली दूतावाससँग पनि यसबारेमा नियमित छलफल भइरहेको उल्लेख गरेका थिए । उनले यी सबै कुरा त्यहाँका अरु विद्यार्थीलाई पनि सञ्चार गरिदिन आग्रह गरेका छन ।
यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती र मृतकका परिवारलाई राहतलगायत विषयमा चासो व्यक्त गरेका छन । उनले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर त्यहाँ रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो व्यक्त गरेका हुन । राष्ट्रपति पौडेलले इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूित प्रकट गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन ।
त्यसैगरी राष्ट्रपति पौडेलले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले सुरक्षित स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि आग्रह गरेको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिएका छन ।
उता, सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही रु दुई लाख दिने घोषणा गरेको छ । सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन  ।मुुख्यमन्त्री शाहले शोक सन्तप्त परिवारमा समवेदना समेतव्यक्त गरेका छन । घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री शाहले खोजी र उद्धार र शव फिर्ता ल्याउन दुवै देशका सरकारसँग अनुरोधसमेत गरेका छन ।
इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी सुदूरपश्चिम प्रदेशबाट अध्ययनका लागि गएका सात जना विद्यार्थीले ज्यान गुमाएको पुष्टि भइसकेको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी भएको जनाइएको छ ।
यसैबीच, सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ । इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने समेत निर्णय गरेको छ ।
नेपाल सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा उक्त संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्न आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण कामहरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्