महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेती तालिम

गोरखा, १२ असोज  ।  गोरखाको गण्डकी गाउँपालिकाका विपन्न महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेतीसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका–५ स्थित डेढेमा बुधबारदेखि सातदिने व्यावसायिक च्याउखेती तालिम सुरु गरिएको आयोजक संस्था नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) का संयोजक कमल बसेलले जानकारी दिनुभयो ।

युएसएआइडीको स्थानीय (गोरखा र चितवन) कार्यक्रमकोे आर्थिक सहयोग र गण्डकी गाउँपालिकाको समन्वयमा २१ महिलालाई तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । यही असोज १० गतेदेखि सुरु भएको तालिम असोज १७ गतेसम्म सञ्चालन हुने छ । तालिममा नमुना कोसिस महिला कृषक समूहमा आबद्ध महिलाको सहभागिता रहेको छ ।

एड््वानले स्थानीय विपन्न कृषक महिलाको समूह गठन गरी उनीहरुको आर्थिक आयआर्जन वृद्धिका लागि टेवा पु¥याउने उद्देस्यसहित तालिम सञ्चालन गरेको उहाँले बताउनुभयो । तालिममा सहभागीलाई कृषि प्राविधिक दिपेन्द्र विष्ट र निरमाया थापाले प्रशिक्षण दिइरहनुभएको छ । “परियोजनाअन्तर्गत आर्थिक र सामाजिकरुपमा विपन्न महिलाको समूह निर्माण गरी वडा कार्यालयको समन्वयमा समूह गठन गरिएको हो ”, उहाँले भन्नुभयो, “वडा कार्यालयमार्फत आवश्यक ठाउँ छनोट गरी अतिआवश्यक क्षेत्रमा तालिम सञ्चालन गरिन्छ ।”

प्रतिक्रिया दिनुहोस्