घिसिङलाई पदमुक्त गरिएको विरोधमा प्रदर्शन

 

काठमाडौं, १२ चैत । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा स्वतन्त्र नागरिकको तर्फबाट युवाहरूले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा मंगलबार उनीहरूले प्रदर्शन गरेका हुन् ।

हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।उक्त निर्णयको सत्तारुढ दलकै नेताहरूले पनि विरोध प्रदर्शन गरेका छन् । कुलामानलाई बर्खास्त गर्ने निर्णय लगत्तै मंगलबार बिहानैबाट रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा सुरक्षा बढाइएको छ ।

माइतीघरमा संलग्न प्रदर्शनकारीहरूले ‘जाग्यो जाग्यो जनता अति भयो अब त ’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका छन् ।
नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा मंगलबार राजधानीको माइतीघरमा विरोध प्रदर्शन भएको छ ।

‘नेपाली जनताको’ नाममा भएको भनिएको प्रदर्शनमा सहभागीहरूले कुलमानको पक्षमा विभिन्न नारा अङ्कित प्लेकार्ड बोकेका थिए । उनीहरूले ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’, ‘सिंगो नेपाल के भन्छ, कुलमान घिसिङ ल्याऊ भन्छ’, ‘देशलाई अन्धकारमा धकेल्न पाइँदैन’लगायतका प्लेकार्ड प्रदर्शनकारीले बोकेर सरकारको निर्णयको विरोध गरेका थिए ।

यसैगरी, घिसिङलाई पदमुक्त गरिएको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । मंगलबार बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रद्धशनीमार्गमा प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्