काठमाडौँ, १८ कात्तिक । आन्द्रे रसेलको उत्कृष्ट अलराउन्ड प्रदर्शनसँगै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई दुई रनको रोमाञ्चक अन्तरले पराजित गरेको हो ।
विराटनगरले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा जनकपुर जितको नजिक पुगे पनि लक्ष्य भेट्टाउन असफल भयो । विराटनगरको जितमा बल र ब्याट दुवैबाट प्रभाव जमाएका रसेल निर्णायक बने ।
बलिङतर्फ विराटनगरका रसेलले चार विकेट लिए । एन्जेलो म्याथ्युजले दुई तथा रुपेश सिंहले एक विकेट हात पारे । रसेलले महत्वपूर्ण समयमा विकेट लिँदै जनकपुरको जितको सम्भावना कमजोर बनाएका थिए ।
लक्ष्य पछ्याउने क्रममा जनकपुरको सुरुआत भने राम्रो हुन सकेन । ओपनर मोइन अली १० रनमा आउट हुँदा त्रितराज दास ६ र अनिल शाह शून्य रनमै पेभेलियन फर्किए । सुरुआती विकेट गुमाएपछि दबाबमा परेको जनकपुरलाई विशाल सुस्लिङ र सैफ हसनले सम्हाल्ने प्रयास गरे ।
चौथो विकेटका लागि विशाल र सैफले ७६ रनको महत्वपूर्ण साझेदारी गरे । ३० बलमा दुई चौका र तीन छक्काको मद्दतले ४३ रन बनाएका विशाल एन्जेलो म्याथ्युजको बलमा बसिर अहमदबाट क्याच आउट भए । त्यसपछि पनि सैफले आक्रामक ब्याटिङलाई निरन्तरता दिए ।
पाँचौँ विकेटका लागि सैफ र जेम्स निशमले ५६ रनको साझेदारी गर्दै जनकपुरलाई जितको सम्भावनामा कायम राखे। निशमले १५ बलमा तीन छक्कासहित २७ रन बनाए । तर, उनी रुपेश सिंहको बलमा क्याच आउट भएपछि खेल विराटनगरको पक्षमा मोडियो । सैफले पनि अर्धशतक पूरा गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।त्यसअघि टस जितेर जनकपुरले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको थियो । विराटनगरका लोकेश बम, इमरान शेख र आन्द्रे रसेलले अर्धशतकीय पारी खेले ।
दोस्रो विकेटका लागि लोकेश र इमरानले १०७ रनको साझेदारी गर्दै विराटनगरलाई बलियो अवस्थामा पु¥याएका थिए । इमरानले ४५ बलमा पाँच चौका र दुई छक्काको मद्दतले ५६ रन बनाए। त्यस्तै, लोकेशले ४० बलमा समान तीन चौका र छक्कासहित ५० रन जोडे । उनलाई अभिषेक तिवारीको बलमा ललित राजवंशीले क्याच आउट गराए ।
लोकेशले यसअघि कर्णाली याक्सविरुद्ध पनि अर्धशतक बनाएका थिए । यससँगै उनी प्रतियोगितामा दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।
विराटनगरका लागि रसेलले पनि आक्रामक ब्याटिङ गर्दै २९ बलमा दुई चौका र पाँच छक्कासहित अविजित ५२ रन बनाए । शुभम रञ्जाने सात रनमा नटआउट रहे । ओपनर सेहान जयसूर्या भने एक रनमै आउट भएका थिए । जनकपुरका अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए ।
यस खेलमा एकै इनिङ्समा तीन खेलाडीले अर्धशतक बनाउनु प्रतियोगिताकै पहिलो घटना हो । प्रतियोगितामा यसअघि त्रितराज दास, सोमपाल कामी, डेभिड मलान, मोइन अली र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाइसकेका थिए ।
लगातार दोस्रो जितसँगै चार खेलबाट चार अंक जोडेको विराटनगर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्