काठमाडौँ, १६ कात्तिक । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासमा १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा १.७० प्रतिशतले बढेको हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी भने घटेको छ । गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ९१ करोड २० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा २८.१९ प्रतिशतले घटेर २ अर्ब ९ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ । ब्याज आम्दानीमा गिरावट आए पनि कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम घट्दा बैंकको नाफामा सामान्य वृद्धि देखिएको हो ।
बैंकको सञ्चालन मुनाफामा भने उल्लेख्य सुधार भएको छ । गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा चालु आवमा ३२.४० प्रतिशतले बढेर १ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कर्जा नोक्सानी व्यवस्थापन खर्च ६४.४१ प्रतिशतले घटेर ४४ करोड ९९ लाख रुपैयाँमा झरेको छ ।
त्यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३.९० प्रतिशतले बढेर ८८ करोड २३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ८४ करोड ९१ लाख रुपैयाँ थियो ।
व्यवसाय विस्तारतर्फ पनि बैंकले प्रगति गरेको छ । गत आर्थिक वर्षको अन्त्यको तुलनामा बैंकको निक्षेप ६.३६ प्रतिशतले बढेर ४ खर्ब २८ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा प्रवाह ७.६८ प्रतिशतले वृद्धि भई २ खर्ब ९३ अर्ब ९ करोड रुपैयाँ कायम भएको छ ।
बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा कायम हुँदा प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ३१ पैसा रहेको छ । बैंकको वितरणयोग्य नाफा १४ करोड ७२ लाख रुपैयाँ रहेको छ ।
यद्यपि, बैंकको खराब कर्जा अनुपातमा भने वृद्धि देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा ६.९८ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात बढेर चालु आवको समीक्षा अवधिमा ८.७२ प्रतिशत पुगेको छ । यसले बैंकका लागि कर्जा असुली र जोखिम व्यवस्थापन चुनौतीका रूपमा रहेको देखाउँछ ।
नाफामा सामान्य वृद्धि र व्यवसाय विस्तार सकारात्मक देखिए पनि ब्याज आम्दानीमा आएको गिरावट तथा खराब कर्जाको बढ्दो अनुपातले आगामी त्रैमासमा बैंकको वित्तीय प्रदर्शनलाई प्रभाव पार्न सक्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्