‘आर्थिक अनियमितता र आचरणविपरीतका गतिविधिमा सम्झौता नहुने, बर्दीको दुरुपयोग गर्ने छुट कसैलाई छैन’

 

काठमाडौं, १६ कात्तिक । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले आर्थिक अनियमितता र प्रहरी आचरणविपरीतका गतिविधिमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा एसएसपी काफ्लेले आर्थिक अनियमितता र प्रहरी आचरणविपरीतका गतिविधिमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै सडकमा प्रत्यक्ष रूपमा नागरिकसँग सम्पर्कमा रहने ट्राफिक प्रहरीको व्यवहार मर्यादित, जिम्मेवार र परिस्थितिअनुकूल हुनुपर्ने बताउनु भएको हो ।

 

काठमाडौं उपत्यकाको सडक व्यवस्थापनलाई प्रभावकारी र नागरिकमैत्री बनाउन ट्राफिक प्रहरीको आचरण सुधारसँगै प्रविधिमा आधारित प्रणाली लागू गर्नुपर्ने बताउनुभएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा एसएसपी काफ्लेले आर्थिक अनुशासन र जिम्मेवार व्यवहारलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ ।

एसएसपी काफ्लेले चालु आर्थिक वर्ष सुरु भएयता आचरणविपरीत काम गरेको आरोपमा २० देखि २५ जनासम्म प्रहरी कर्मचारीले जागिर गुमाइसकेको जानकारी दिँदै मातहतका कर्मचारीलाई अनुशासनमा रहन सचेत गराउनुभयो । राज्यबाट प्राप्त सेवा–सुविधाप्रति असन्तुष्टि भए वैकल्पिक पेसा रोज्न सकिने तर बर्दीको दुरुपयोग गरी अनियमितता गर्ने छुट कसैलाई नहुने उहाँको भनाइ थियो ।

‘हामीलाई आर्थिक अनियमितताको आरोप लाग्नुजति दुःखद कुरा अरू केही हुँदैन,’ एसएसपी काफ्लेले भन्नुभयो, ‘राज्यले दिएको तलबमा सन्तुष्ट हुनुपर्छ। चित्त बुझ्दैन भने अन्य क्षेत्रमा जाने विकल्प खुला छ, तर नियमविपरीत काम गर्ने कसैले पनि उन्मुक्ति पाउँदैन ।’

ट्राफिक प्रहरीको काम सवारी नियम कार्यान्वयनमा मात्र सीमित नभई सडकमा देखिने फरक–फरक परिस्थितिको उचित मूल्याङ्कन गर्नु पनि भएको एसएसपी काफ्लेले बताउनुभयो । उहाँका अनुसार सडकमा खटिएका कर्मचारीले स्वविवेकीय अधिकार प्रयोग गर्दा नागरिकको अवस्था र घटनाको प्रकृतिलाई ध्यान दिनुपर्छ ।

एसएसपी काफ्लेले घाइते व्यक्तिलाई अस्पताल पु¥याउन हतारिएको सवारी र मादक पदार्थ सेवन गरी नियम उल्लङ्घन गर्ने सवारी चालकको अवस्थालाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताउनुभयो । यस्ता अवस्थामा परिस्थितिको मूल्याङ्कन गरेर निर्णय लिनुपर्ने उहाँको भनाइ थियो ।

तर परिस्थितिअनुसार विवेक प्रयोग गर्ने नाममा जानाजान कानुन उल्लङ्घन गर्ने वा होहल्ला गर्ने व्यक्तिलाई उन्मुक्ति दिन नहुने उहाँले स्पष्ट पार्नुभयो । त्यस्ता गतिविधिमा संलग्नलाई प्रचलित कानुनअनुसार कारबाही गर्न निर्देशन दिनुभयो ।
काफ्लेले व्यक्तिगत स्वार्थभन्दा नागरिकको हितलाई प्राथमिकता दिएर सेवा प्रवाह गर्न पनि आग्रह गर्नुभयो । ट्राफिक प्रहरीका कारण सर्वसाधारणले सडकमा अनावश्यक दुःख पाउने अवस्था आउन नदिन कर्मचारीहरू जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक चोकमा ट्राफिक प्रहरी उभ्याएर सवारीसाधन व्यवस्थापन गर्ने परम्परागत अभ्यासलाई क्रमशः प्रविधिमा आधारित प्रणालीले प्रतिस्थापन गर्नुपर्ने बताउनुभयो । यातायात व्यवस्थापनलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन स्मार्ट ट्राफिक प्रणालीमा लगानी बढाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

सभापति गजुरेलका अनुसार ट्राफिक प्रहरीको भूमिका चोकमा उभिएर हातको सङ्केतमार्फत सवारीसाधन सञ्चालन गराउने काममा मात्र सीमित हुनुहुँदैन । नियम उल्लङ्घन गर्नेहरूलाई कानुनी दायरामा ल्याउने र सडक सुरक्षासम्बन्धी जनचेतना फैलाउने कार्यमा पनि प्रहरीले प्राथमिकता दिनुपर्ने उहाँको धारणा थियो ।

‘हामी यातायात व्यवस्थापनलाई सहज बनाउन स्मार्ट ट्राफिक सिस्टममा लगानी बढाउँदै छौँ,’ उहाँले भन्नुभयो । ‘अहिले उपत्यकामा बिग्रिएका ट्राफिक बत्ती मर्मत गर्ने र नयाँ जडान गर्ने काम भइरहेको छ ।’
उहाँले ट्राफिक नियन्त्रण कक्षलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाइने पनि जानकारी दिनुभयो । ट्राफिक बत्तीको प्रभावकारी सञ्चालन, नियन्त्रण कक्षको सुदृढीकरण र प्रविधिको प्रयोगले सडकमा सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा आकाशे पुलको आवश्यकताबारे उठेको प्रश्नको जवाफ दिँदै सभापति गजुरेलले स्मार्ट ट्राफिक लाइट पूर्ण रूपमा कार्यान्वयन गर्न सके पैदलयात्रीलाई सडक पार गर्न आकाशे पुलमा निर्भर हुनुपर्ने अवस्था कम हुन सक्ने बताउनुभयो ।
उहाँले विकसित देशहरूमा पनि आकाशे पुलको प्रयोग कम हुने गरेको दृष्टान्त दिँदै अबको प्राथमिकता इन्टेलिजेन्ट ट्रान्सपोर्टेसन सिस्टम अर्थात् बुद्धिमत्तापूर्ण यातायात प्रणालीमा हुनुपर्ने धारणा राख्नुभयो । यद्यपि, आवश्यक पर्ने स्थानमा आकाशे पुल निर्माणको काम भने जारी रहने उहाँले स्पष्ट पार्नुभयो ।

यस भनाइले सडक पूर्वाधार निर्माणसँगै प्रविधिमा आधारित व्यवस्थापनलाई प्राथमिकता दिने योजनालाई संकेत गर्छ । तर स्मार्ट प्रणाली प्रभावकारी बनाउन ट्राफिक बत्तीको नियमित सञ्चालन, प्राविधिक मर्मतसम्भार र पैदलयात्रीको सुरक्षित आवागमन सुनिश्चित गर्नु पनि आवश्यक हुनेछ ।

कार्यक्रममा सडकमा खटिने ट्राफिक प्रहरीका लागि बस्ने ठाउँ, पिउने पानी र शौचालयजस्ता आधारभूत सुविधाको अभावसम्बन्धी गुनासो पनि उठाइएको थियो । सभापति गजुरेलले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताउँदै घामपानी नभनी सडकमा खटिने प्रहरी कर्मचारीका लागि आवश्यक सुविधाको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सडक व्यवस्थापनमा प्रविधिको प्रयोग र प्रहरीको अनुशासन दुवै महत्त्वपूर्ण भए पनि प्रभावकारी सेवा प्रवाहका लागि कर्मचारीको कार्यस्थल र आधारभूत आवश्यकतामा पनि ध्यान दिनुपर्ने देखिन्छ ।

ट्राफिक प्रहरीको जिम्मेवार व्यवहार, नियमको निष्पक्ष कार्यान्वयन र आधुनिक प्रविधिमा आधारित व्यवस्थापन एकअर्काका पूरक पक्ष हुन् । यी पक्षलाई समन्वयात्मक रूपमा अघि बढाउन सके सडकमा नागरिकले भोग्ने अनावश्यक सास्ती कम गर्न र समग्र सडक सुरक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्