काठमाडौँ, २१ असोज । डर, रहस्य, अलौकिक घटना र अँध्यारा कथामार्फत समाज, मनोविज्ञान तथा मानवीय पहिचानलाई प्रस्तुत गर्ने विश्वभरका सिनेमाहरू काठमाडौँमा एकै ठाउँमा प्रदर्शन हुने भएका छन् । दोस्रो संस्करणको काठमाडौँ हरर सिनेमा फेस्टिभलका लागि २१ देशका २६ फिल्म छनोट भएसँगै फेस्टिभलको तयारी अघि बढाइएको छ ।
आगामी अक्टोबर ३० देखि नोभेम्बर १ अर्थात् कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालन हुने फेस्टिभलमा ८ वटा फिचर तथा १८ वटा लघु फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय आह्वानमार्फत प्राप्त भएका हरर, थ्रिलर, सुपरनेचुरल, डार्क फ्यान्टसी तथा लोककथामा आधारित फिल्ममध्येबाट ती सिनेमा छनोट गरिएको हो ।
छनोट भएका फिल्ममध्ये पाँचवटा नेपाली निर्माण वा सह–निर्माणमा बनेका छन् । यसले नेपाली फिल्मकर्मीले हरर विधामा गरिरहेको प्रयोग र सिर्जनशीलतालाई अन्तर्राष्ट्रिय फिल्मको मञ्चमा प्रस्तुत गर्ने अवसरसमेत प्रदान गर्ने आयोजकको विश्वास छ ।
फेस्टिभलमा फरक–फरक देश र संस्कृतिका कथामा डर तथा रहस्यलाई कसरी प्रस्तुत गरिएको छ भन्ने अनुभव दर्शकले लिन पाउनेछन् ।
परम्परागत भूतप्रेत र अलौकिक घटनामात्र नभई सामाजिक संरचना, मानसिक अवस्था, मिथक, लोकविश्वास तथा मानवीय डरलाई कथाको केन्द्रमा राखिएका फिल्मसमेत फेस्टिभलमा समेटिएका छन् ।
फेस्टिभल निर्देशक रशिक पाठकका अनुसार पछिल्लो समय हरर सिनेमा केवल डर देखाउने विधिका रूपमा सीमित छैन । यसले समाज र मानिसको मनोविज्ञान बुझ्ने तथा विभिन्न सांस्कृतिक कथालाई पर्दामा ल्याउने माध्यमका रूपमा समेत आफ्नो दायरा विस्तार गरिरहेको छ ।
‘सिनेमेकरहरूले हरर सिनेमामार्फत लोककथा, मनोविज्ञान, समाज र पहिचानका विषय उठाउँछन्,’ पाठकले भने, ‘यस विधामा काम गर्ने नेपाली सिनेमेकरलाई दर्शक र समुदायसँग जोड्नुका साथै विदेशका थप फिल्ममेकरसँग सहकार्य र संवाद गर्ने अवसर पनि फेस्टिभलले सिर्जना गर्छ ।’
फेस्टिभल काठमाडौंस्थित रसियन हाउसमा आयोजना हुनेछ । तीन दिनसम्म चल्ने महोत्सवमा फिल्म प्रदर्शनसँगै हरर विधासँग सम्बन्धित सिर्जनात्मक अभ्यास, अन्तर्राष्ट्रिय फिल्मकर्मीबीच संवाद तथा नेपाली फिल्मकर्मीका लागि अनुभव आदानप्रदानको अवसरसमेत बन्ने अपेक्षा गरिएको छ ।
काठमाडौँ हरर सिनेमा फेस्टिभलको सुरुवात सन् २०२५ मा भएको हो । पहिलो संस्करणबाटै नेपाली लोककथा, मिथक, किंवदन्ती तथा सांस्कृतिक परम्परामा आधारित कथालाई हरर विधामार्फत प्रस्तुत गर्न फिल्मकर्मीलाई प्रोत्साहित गर्दै आएको आयोजकको भनाइ छ ।
नेपालमा हरर विधाका फिल्म निर्माण हुने क्रम बढिरहेको भए पनि यस विधालाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय स्तरका फिल्मसँग नेपाली सिर्जनालाई जोड्ने मञ्च सीमित छन् । यही खाडल पूर्ति गर्ने उद्देश्यले फेस्टिभललाई निरन्तरता दिइएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्