सभापोखरीलाई हराउँदै पुलिस बन्यो मदन भण्डारी कप च्याम्पियन

कठमाडौँ, १९ असोज । नेपाल पुलिस क्लबले बुटवलमा सम्पन्न दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा सभापोखरी भलिबल क्लब सङ्खुवासभालाई सोझो सेटमा पराजित गर्दै पुलिसले प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको हो ।

फाइनलमा पुलिसले सभापोखरीलाई ३–० को सेटमा पराजित ग¥यो । प्रतियोगिताको सुरुदेखि नै प्रभावशाली प्रदर्शन गर्दै आएको सभापोखरी फाइनलसम्म पुग्दा उपाधिको बलियो दाबेदारका रूपमा देखिएको थियो । भारतीय खेलाडीसमेत समावेश गरेको सभापोखरीले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक खेलमा भने पुलिसको चुनौती पार गर्न सकेन ।

पुलिसले फाइनलमा सुरुदेखि नै आक्रामक र सन्तुलित खेल प्रस्तुत गरेको थियो । स्पाइक, ब्लक र सर्भिसमा राम्रो तालमेल देखाएको पुलिसले सभापोखरीलाई दबाबमा राख्दै लगातार तीन सेट आफ्नो पक्षमा पा¥यो । उपाधिसँगै नेपाल पुलिस क्लबले रु सात लाख पुरस्कार प्राप्त गरेको छ ।

उपविजेता बनेको सभापोखरी भलिबल क्लबले रु तीन लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो । प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) क्लब तेस्रो भयो । तेस्रो स्थानका लागि भएको खेलमा एपिएफले खैरा भलिबल क्लब पञ्जाबलाई ३–१ को सेटमा पराजित गरेको थियो । तेस्रो स्थान हासिल गरेको एपिएफले रु एक लाख ७५ हजार तथा चौथो भएको खैरा क्लबले रु ७५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा नेपाल पुलिस क्लबका पहल गहतराज सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले रु १५ हजार पुरस्कार प्राप्त गरे । उत्कृष्ट प्रदर्शन गर्ने अन्य खेलाडीलाई पनि विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।

 

विधागततर्फ एपिएफका सरोज बर्देवा उत्कृष्ट स्पाइकर घोषित भए । नेपाल पुलिस क्लबका बलराम गुरुङ उत्कृष्ट सेटर तथा रेशम छन्त्याल उत्कृष्ट सर्भर चुनिए । सभापोखरीका सिभानसेन भी उत्कृष्ट ब्लकर र सन्तोष राई उत्कृष्ट डिफेन्डर घोषित भए । नेपाल पुलिस क्लबका चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागततर्फ उत्कृष्ट घोषित खेलाडीले जनही रु आठ हजार पुरस्कार प्राप्त गरे ।

पुरस्कार वितरण कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री रामजी घिमिरेले प्रतियोगितामा सहभागी सबै टोली तथा विजेता खेलाडीलाई बधाई तथा शुभकामना दिए । उनले खेलकुद क्षेत्रको विकासले देशको समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए । खेलाडीको प्रतिभा पहिचान र विकासका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीलाई एउटै मैदानमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको बताए । यस्ता प्रतियोगिताले नेपाली खेलाडीको क्षमता विकाससँगै घरेलु भलिबलको स्तर उकास्न सहयोग पुग्ने उनको भनाइ थियो ।

असोज १२ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपालका चार तथा भारतलगायत विदेशका तीन गरी सात टोलीको सहभागिता रहेको थियो । राष्ट्रियस्तरका विभागीय टोली, घरेलु क्लब तथा विदेशी खेलाडी सम्मिलित टोलीको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको आयोजकले जनाएको छ ।

प्रतियोगिताले बुटवलमा पुरुष भलिबलप्रतिको आकर्षण बढाउनुका साथै नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसरसमेत प्रदान गरेको छ । दोस्रो संस्करणको उपाधि जित्दै नेपाल पुलिस क्लबले आफूलाई प्रतियोगिताको बलियो टोलीका रूपमा स्थापित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्