काठमाडौँ, १४ असोज । दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लब र भारतको खैरा भलिबल क्लब पञ्जाबले विजयी सुरुआत गरेका छन् । बुटवलमा जारी प्रतियोगितामा खैराले आयोजक मणिमुकुन्द भलिबल क्लबलाई चार सेटमा पराजित गर्दा नेपाल पुलिसले श्रीलंका पुलिस क्लबलाई सोझो सेटमा हराएको हो ।
समूह ‘ए’ अन्तर्गत मंगलबार भएको खेलमा खैरा भलिबल क्लब पञ्जाबले मणिमुकुन्दमाथि ३–१ को जित निकाल्यो । सुरुआती दुई सेट जितेर खेलमा पकड बनाएको खैराले तेस्रो सेट गुमाए पनि चौथो सेटमा पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो ।
पहिलो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । खैराले मणिमुकुन्दलाई २६–२४ ले पराजित गर्दै खेलमा अग्रता लिएको थियो । दोस्रो सेटमा भने खैराले तुलनात्मक रूपमा सहज प्रदर्शन गर्दै २५–१८ को जित निकाल्यो ।
दुई सेट गुमाएपछि दबाबमा आएको आयोजक टोलीले तेस्रो सेटमा खेलमा फर्कने संकेत देखायो । मणिमुकुन्दले २५–२२ ले तेस्रो सेट जित्दै खेललाई २–१ को अवस्थामा पु¥यायो । त्यसपछि चौथो सेटमा दुवै टोलीबीच प्रतिस्पर्धा भए पनि खैराले निर्णायक क्षणमा प्रभावकारी प्रदर्शन गर्दै २५–२० को जित निकाल्यो ।
खैराले चार सेटमा जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गर्दा आयोजक मणिमुकुन्दले भने घरेलु कोर्टमा पहिलो खेलमै पराजय व्यहोरेको छ ।
मंगलबारकै अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले श्रीलंका पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । तीनवटै सेटमा अग्रता कायम राखेको नेपाल पुलिसले पहिलो सेट २५–२३, दोस्रो २५–२१ र तेस्रो २५–२० ले आफ्नो पक्षमा पारेको थियो ।
नेपाल पुलिसको जितमा तीनवटै सेटमा टोलीले दबाब कायम राख्नु महत्वपूर्ण रह्यो । श्रीलंका पुलिसले केही चरणमा प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि सेटको निर्णायक अवस्थामा नेपाल पुलिसले अंक बटुल्दै खेल आफ्नो नियन्त्रणमा राखेको थियो ।
यसैबीच समूह ‘बी’मा रहेको गल्कोट भलिबल क्लब निर्धारित समयमा प्रतियोगिता स्थलमा उपस्थित नभएपछि खेलका लागि अयोग्य ठहरिएको छ । प्रतियोगिताको नियमअनुसार निर्धारित समयमा उपस्थित हुन नसकेपछि गल्कोटलाई अयोग्य घोषणा गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच गरेकी थिइन् । उद्घाटनका क्रममा उनले यस्ता प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडी तथा टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर उपलब्ध गराउने बताइन् ।
आयोजक मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले एकेडेमीले विद्यालय तहदेखि अन्तर्राष्ट्रिय स्तरसम्म विभिन्न खेल गतिविधि सञ्चालन गर्दै आएको बताए । खेलकुदलाई प्राथमिकतामा राखेर प्रतियोगिता आयोजना तथा खेलाडी उत्पादनमा एकेडेमीले काम गरिरहेको उनको भनाइ थियो ।
असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी हुने तय भएको छ । समूह ‘ए’मा खैरा भलिबल क्लब पञ्जाब, श्रीलंका पुलिस क्लब, नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लब छन् । समूह ‘बी’मा सभापोखरी भलिबल क्लब, भारतको गुजरात स्पोर्टिङ क्लब र नेपाल एपीएफ क्लब रहेका छन् ।
प्रतियोगिताको उपाधि विजेताले ७ लाख रुपैयाँसहित कप प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । समूह चरणका खेलसँगै अघि बढ्ने प्रतिस्पर्धाले आगामी चरणमा उपाधि दाबेदार टोलीको स्थिति स्पष्ट पार्नेछ ।
प्रतिक्रिया दिनुहोस्