काठमाडौँ, १४ असोजः नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।
भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएपछि आज महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरिएको सो पार्टीले जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली यही असोज १५ गतेसम्म केन्द्रमा पठाइसक्नुपर्ने बताउनुभयो ।
केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको रजिष्ट्रेसन असोज १६ र १७ गते गरिने छ । महाधिवेशनको उद्घाटन समारोह यही असोज १८ गते दिउँसो २ः०० बजे काठमाडौँको खुलामञ्चमा हुने समितिले जनाएको छ ।
महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम असोज १९ र २० गते सञ्चालन हुनेछन् । यस्तै, असोज २१ र २२ गते निर्वाचन कार्यक्रम सञ्चालन गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्