फेलिक्स र रामोस चम्किँदा पोर्चुगलको विजयी यात्रा कायम

काठमाडौँ, १३ असोज । यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ । उल्लेभाल स्टेडियममा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा गोन्कालो रामोसको निर्णायक गोलले पोर्चुगललाई महत्वपूर्ण तीन अंक दिलायो ।

क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा मैदान उत्रिएको पोर्चुगलले खेलको सुरुआतदेखि नै आक्रामक प्रदर्शन गरेको थियो । खेलको १७औँ मिनेटमा जोआओ फेलिक्सले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाए । पेड्रो नेटोको कटब्याक पासमा फेलिक्सले पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गरेको बल सिधै जालीमा पुगेको थियो ।

अग्रता लिएपछि पोर्चुगलले खेलमा नियन्त्रण कायम राख्ने प्रयास गरे पनि घरेलु टोली नर्वेले पहिलो हाफको अन्त्यतिर दबाब बढाएको थियो । नर्वेले बराबरीको अवसर सिर्जना गरे पनि पोर्चुगलका गोलरक्षक डियोगो कोस्टाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई संकटबाट जोगाए । उनले पहिलो हाफमै लगातार दुई महत्वपूर्ण बचाउ गरेका थिए ।

दोस्रो हाफ सुरु भएको केही समयमै नर्वे खेलमा फर्कियो । ५१औँ मिनेटमा मार्टिन ओडेगार्डको फ्रिकिकपछि उत्पन्न अवस्थालाई प्याट्रिक बर्गले गोलक्षेत्रतर्फ पठाएका थिए । गोलरक्षक कोस्टाबाट फर्किएको बलमा एर्लिङ हालान्डले नजिकबाट प्रहार गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

हालान्डको गोलपछि नर्वेले खेलमा पुनरागमनको संकेत दिएको थियो । तर बराबरी भएको तीन मिनेटमै पोर्चुगलले फेरि अग्रता बनायो । नर्वेका गोलरक्षक ओर्जान न्यालान्डले रक्षापंक्तितर्फ दिएको पास रामोसले बीचमै खोसे । त्यसपछि उनले अघि बढेका गोलरक्षकलाई छक्याउँदै चिप प्रहारमार्फत गोल गरे ।

त्यसपछि नर्वेले पुनः बराबरीको खोजीमा आक्रमणलाई तीव्र बनाएको थियो । तर पोर्चुगलको रक्षापंक्ति मजबुत रह्यो । गोलरक्षक कोस्टाले खेलभर पाँच महत्वपूर्ण बचाउ गर्दै टोलीको जित सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेले ।
पोर्चुगलले खेलमा थप गोल गर्ने अवसर पनि सिर्जना गरेको थियो । रामोसले दोस्रोपटक जाली चुमाए पनि अफसाइडका कारण गोलले मान्यता पाएन । यस्तै, राफाएल लियाओको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

यस जितसँगै पोर्चुगलले नेसन्स लिगको नयाँ संस्करणमा लगातार दोस्रो सफलता हात पारेको छ । टोलीले उपाधि रक्षा अभियानलाई बलियो बनाउँदै समूह चरणमा सकारात्मक सुरुआत गरेको छ ।
यता नर्वेका लागि हालान्डले गोल गर्ने क्रमलाई निरन्तरता दिएका छन् । उनले नर्वे र म्यानचेस्टर सिटीका लागि पछिल्ला १४ प्रतिस्पर्धात्मक खेलमध्ये ११ खेलमा गोल गरेका छन् । हालान्ड पछिल्ला ६ खेलमा लगातार गोल गर्न सफल भएका छन् ।

रोनाल्डोबिनाको टोलीले पनि प्रभावशाली प्रदर्शन गर्न सक्ने सन्देश दिँदै पोर्चुगलले नेसन्स लिगमा आफ्नो विजयी यात्रालाई कायम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्