एसियाडमा सोमबहादुरको राष्ट्रिय कीर्तिमान, फाइनलमा पुग्न सकेनन्

काठमाडौँ, १३ असोज । २०औँ आईची–नागोया एसियाली खेलकुदमा नेपालका सोमबहादुर कुमालले पुरुष ८ सय मिटर दौडमा आफ्नै राष्ट्रिय कीर्तिमान तोडेको छ । नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा आइतबार भएको हिट–१ मा सोमले १ मिनेट ४८.९५ सेकेन्डमा दौड पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।

त्रिभुवन आर्मी क्लबका सोम आठ खेलाडी सहभागी हिटमा पाँचौँ स्थानमा रहे । यसअघि पनि ८ सय मिटरमा राष्ट्रिय कीर्तिमान सोमकै नाममा थियो । उनले गत महिना भारतको भुवनेश्वरस्थित कलिंगा स्टेडियममा भएको विश्व एथलेटिक्स महादेशीय भ्रमण प्रतियोगिताको रजत तहमा कांस्य पदक जित्ने क्रममा १ मिनेट ४९.५५ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

आफ्नै कीर्तिमान करिब शून्य दशमलव ६० सेकेन्डले सुधार गरे पनि सोमले फाइनलमा भने स्थान बनाउन सकेनन् । २४ खेलाडीमध्ये उनी समग्रमा आठौँ स्थानमा रहे ।

प्रतियोगिताको नियमअनुसार तीन हिटबाट प्रत्येक हिटका शीर्ष दुई खेलाडी समयका आधारमा फाइनलमा पुगेका थिए । त्यसबाहेक हिटमा उत्कृष्ट स्थान हासिल गर्ने थप दुई खेलाडीले पनि फाइनलमा स्थान बनाएका थिए । सोमभन्दा अगाडि रहेका मलेसियाका ओमार उस्मान पनि फाइनलमा पुग्न सकेनन् ।

आफ्नो हिटमा पहिलो र दोस्रो स्थान हासिल गरेका चीनका सियाओहेङ र जापानका नानाकी मान्नोले भने समग्र समय पछाडि रहे पनि फाइनलमा स्थान बनाए ।
१३औँ दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेका सोमले नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सकेकामा खुसी लागेको तर फाइनलमा पुग्न नसक्दा दुःख लागेको बताएका छन् । उनले सागमा पदक जित्दाको समयसमेत सुधार भइसकेकाले अब आफ्नो लक्ष्य स्वर्ण पदक जित्नु रहेको बताएका छन् ।

यसैबीच, एसियाड टेनिसको पुरुष डबल्समा अभिषेक बास्तोला र प्रदीप खड्काको नेपाली जोडी दोस्रो चरणमा प्रवेश गरेको छ । हिगाशियामा पार्क टेनिस सेन्टरमा भएको पहिलो चरणमा नेपाली जोडीले मंगोलियाका बाद्राख मुनखबातर र जोलबदार उर्नुखको जोडीलाई ६–२, ४–६, १४–१२ ले पराजित गरेको हो ।

अब अभिषेक र प्रदीपले पहिलो चरणमा बाई पाएको भारतका ए चन्द्रशेखर र बी नारायणस्वामीको जोडीसँग खेल्नेछन् । उक्त खेल जित्ने जोडी क्वार्टरफाइनलमा पुग्नेछ ।

महिला एकलतर्फ नेपालकी स्वस्तिका बिष्ट जापानकी मोयुका उचिजिमासँग ६–१, ६–१ ले तथा शिवाली गुरुङ दक्षिण कोरियाकी दायोन ब्याकसँग ६–१, ६–० ले पराजित भए । मिश्रित डबल्समा शिवाली र प्रदीपको जोडी जापानका शुको ओयामा र युसेके कुसुहारासँग ६–०, ६–१ ले पराजित भयो ।

आर्चरीको रिकर्भ मिश्रित टोलीमा भने नेपाल संयुक्त अरब इमिरेट्ससँग ६–२ ले पराजित हुँदै नकआउट चरणबाट बाहिरिएको छ । नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको जोडीले पहिलो सेट ३९–३४ ले जिते पनि त्यसपछि लगातार तीन सेट गुमाएको थियो ।

अब तिलक र ज्ञानुले व्यक्तिगत रिकर्भ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । तिलकले छनोट चरणमा ६ सय ५१ अंक जोड्दै ५८ खेलाडीमध्ये ४०औँ स्थान हासिल गरेका थिए । ज्ञानुले महिला व्यक्तिगत रिकर्भमा ५ सय ८१ अंकसहित ५३ खेलाडीमध्ये ४८औँ स्थान हासिल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्